Digital Newspaper of Nepal
| Tuesday, 19 February 2019

परिवर्तनमा सक्रिय मुस्लिम र मधेसी महिला

November 3, 2014

5

नेपालगन्ज, १७ कात्तिक । बाँके जिल्लाका मधेसी तथा मुस्लिम समुदायका महिला अहिले प्रजनन स्वास्थ्य तथा परिवार नियोजनको अभियानमा सक्रिय हुनुलाई महिला सशक्तीकरणको अत्यन्त फलदायी पक्ष मानिएको छ । रूढीवादी मान्यतामा कारण परिवार नियोजन तथा प्रजनन स्वास्थ्यको कुरा सुन्न समेत लाज मान्ने सो समुदायका महिला सामाजिक संस्थाले सञ्चालन गर्दै आएको कार्यक्रममा सहभागी हुन थालेपछि उनीहरूमा बिस्तारै त्यसप्रति जागरुकता बढ्दै गएको हो ।

दुई वर्षअघि परिवार नियोजन तथा प्रजनन स्वास्थ्यप्रति अनभिज्ञ जिल्ला जयसपुर गाविसका मुस्लिम महिलामा अहिले धेरै सन्तान पाउन हुन्न, सुखी परिवार कसरी बनाउने, परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्यका विषयमा समुदायलाई जागरुक गराउने अभियानमा लाग्नुलाई महिलामा आएको असाधारण परिवर्तन भन्न थालिएको छ । त्यसैगरी घरबाहिर निस्कँदा आफ्नो परिचय दिन लाज मान्ने, मुख ढाक्ने, कसैसँग बोल्नसमेत अप्ठेरो मान्ने मनिकापुर गाविसका मधेसी समुदायका महिला पनि परिवार नियोजन सङ्घको कार्यक्रममा सहभागी भएपछि अहिले परिवार नियोजन, प्रजनन तथा यौन स्वास्थ्यको अभियानमा थुप्रै मधेसी तथा मुस्लिम महिलालाई साथ लिएर गाउँमा जागरण पैmलाउन सक्रिय भएको पाइन्छ ।

केही समयअघि सम्म पटकपटक बोलाए पनि स्वास्थ्य चौकीमा नआउने मुस्लिम तथा मधेसी समुदायका महिला अहिले तल्लो पेट दुख्ने, आङ खस्ने, गर्भ रोक्नेलगायत परिवार नियोजन, प्रजनन तथा यौन स्वास्थ्यसम्बन्धी स्वास्थ्य सेवा लिन स्वास्थ्यचौकीमा आउने गर्दछन् । परिवार नियोजन सङ्घ बाँकेका प्रमुख अनिल बस्नेतका अनुसार यस जिल्लामा हाल नियमित अस्थायी परिवार नियोजनका साधन प्रयोग गरिरहेका सरदर १३ हजारभन्दा बढी महिला तथा पुरुषमध्ये महिलाको सङ्ख्या ८० प्रतिशत रहेको तथ्याङ्कले महिला परिवार नियोजन तथा प्रजनन स्वास्थ्यप्रति अत्यन्त सचेत रहेको देखाउँछ ।

सो कार्यालयका अनुसार गत आर्थिक वर्षमा बाँकेमा स्थायी परिवार नियोजन सेवा लिएका ६५३ जनामध्ये मिनील्याप गर्ने महिलाको सङ्ख्या ४८० छ भने १७३ पुरुषले मात्र स्थायी बन्ध्याकरण भ्याक्सेटोमी गरेका तथ्याङ्कले देखाएको छ । प्रमुख बस्नेतका अनुसार सङ्घले हाल विशेषतः महिलामा हुने पाठेघर क्यान्सर रोग पत्ता लगाउने उपकरण जडान गरी सो सेवासमेत उपलब्ध गराउँदै आएको छ ।