Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

हतार हतार दाहाल किन गए रोल्पातिर ?

NIC Bank, Long AD

November 10, 2014

राष्ट्रिय राजनीति सत्तापक्ष र प्रतिपक्षी गुटमा स्पष्ट विभाजन भएका बेला विपक्षी गठबन्धनका नेता एवं एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एक्कासी रोल्पातर्फ लागेका छन् । संविधान लेखनमा सत्तापक्ष र विपक्षीका परस्पर विपरित अडान आइरहेका बेला निर्णायक भूमिकामा रहेका दाहालको पूर्व ‘सेल्टर’ यात्राप्रति एकीकृत माओवादीकै भट्टराई समूहले ‘रहस्यमय’ भनेको छ । दाहाल रोल्पातिर लागेपनि त्यहाँ उनको ‘विशिष्ठ’ कार्यक्रम भने तय भएको छैन । पार्टीको केन्द्रीय समिति बैठक सारेर दाहाल रोल्पातिर लागेपछि नेता डा। बाबुराम भट्टराई असन्तुष्ट बनेका छन् । राष्ट्रिय राजनीति गम्भीर मोडमा पुगेका बेला तत्कालै केन्द्रीय समिति बैठक बसेर महत्वपूर्ण विषयमा छलफल चलाउनुपर्नेमा दाहाल गाउँतिर लाग्नुलाई भट्टराई पक्षले ‘गलत’ बुझेको छ । दाहाल र भट्टराईबीच कात्तिक २४ गते केन्द्रीय समितिको बैठक बोलाउने सहमति भएको थियो । तर, तयारी नभ्याइएको भन्दै मंसिर १ गते बैठक सार्न प्रस्ताव गरे लगत्तै दाहाल रोल्पातिर लागेपछि दाहालले मागेकै मितिमा पनि एमाओवादीको केन्द्रीय समिति बैठक बस्न गाह्रो हुने भएको छ । भट्टराई पक्षका एक केन्द्रीय सदस्यले बैठक अनिश्चित कालका लागि सारेर दाहाल रोल्पा, रुकुम र धनगढीतिर जानु सही नभएको बताए । उनका अनुसार त्यहाँ दाहालको पूर्वनिर्धारित कुनै ‘महत्वपूर्ण’ काम छैन । डा। बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक मंगलबार बोलाइएको छ । तर, सम्वाद समितिको बैठकमा के गर्ने भन्नेबारे पार्टीमा छलफल गर्नुपर्ने बेलामा प्रचण्ड डा। भट्टराईलाई पनि पूर्वजानकारी नदिई रोल्पातिर लागेपछि भट्टराईलाई अप्ठ्यारो परेको छ । तर, दाहालनिकट एक नेताका अनुसार सम्वाद समितिको बैठक नराख्न डा। भट्टराईलाई दबाव दिएर उनी रोल्पातिर लागेका हुन् । किन गए त रु कांग्रेस–एमालेले आइतबार पत्रकार सम्मेलन गरी ‘धम्कीको भाषा धेरै नबोल्न’ दाहाललाई आग्रह गर्दै प्रक्रियामै गएर नभएपनि माघ ८ भित्रै संविधान जारी गर्ने बतछाएको भोलिपल्टै दाहाल ‘मसिना’ कामका लागि राजधानी बाहिर निस्किएका हुन् । दाहालले पाँचथर र जनकपुरमा आयोजित २२ दलको आमसभामा कांग्रेस एमालेको सरकार असंवैधानिक भएको भन्दै तलैबाट ‘जनसरकार’ बनाएर देखाउने धम्की दिएका थिए । केहीले दाहालको यो भ्रमणलाई हिजो ‘आफ्नो पार्टीलाई अगाध विश्वास गर्ने जनताको मानसिकता बुझ्ने योजना’ समेत भनेका छन् । बोलीले मात्रै नगल्ने देखिएपछि दाहाल सत्तापक्षलाई थप दवाव दिन त्यता लागेको हुने एकाथरीको बुझाई छ । तर, नेपाली कांग्रेसका एक नेता भन्छन्, ‘पाँचथर र जनकपुरमा जनताले खासै नपत्याएपछि उनी विद्रोहको आधारभूमि भनिएको ठाउँका जनता गुहार्न गएको’ बताउँछन् । तर, दाहाललाई रोल्पा, रुकुमले पनि विश्वास गर्न छोडेको उनको दावी छ । दाहाल निकट एक नेताले भने, ‘संधै निहुँ खोजिरहने भट्टराईले दाहाल बिनाको संवाद समितिको बैठकमा के गर्दा रहेछन् भन्ने जाँच्न पनि’ उनी काठमाडौंबाट बाहिरिएका हुन् । कांग्रेस–एमालेसहितका केही दलले संवाद समितिमा ल्याएको प्रस्ताव फिर्ता हुनुपर्ने दाहालको अडान भएपनि भट्टराईले प्रस्ताव उपर छलफल गर्न सकिने बताएका थिए । आफूले फिर्ता लिनुपर्ने भनेपनि समितिका सभापति समेत रहेका भट्टराई छलफल गराउने पक्षमा देखिएपछि दाहाल उनलाई अफठ्यारो पार्ने मानसिकतामा रहेको भट्टराई पक्षीय एक नेताले बताए । कांग्रेस र एमालेका नेताहरुले सात प्रदेशको एजेन्डाबाट पछि नहट्ने संकेत दिएसँगै दाहाल देश दौडाहामा निस्किएका हुन् । यसले सत्ता र प्रतिपक्षी दुबैमा ध्रुवीकरण तीब्र बन्दै गएको भन्नेहरु पनि छन् । हतार–हतार किन रु दाहाल दुई महिना अगाडि नै निर्धारित कार्यक्रम भन्दै हिंडेपनि तीन दिन अघि मात्रै उनी रोल्पा जाने तय भएको थियो । एकीकृत नेकपा माओवादी रोल्पाका अध्यक्ष सुरेन्द्र घर्तीले दाहाल रोल्पा आउने भन्ने खबर आफूहरुले तीन दिनअघि मात्रै पाएको बताए । ‘हामीलाई दुई–तीन दिन अघिमात्रै उहाहरु आउने भन्ने जानकारी भएको हो, त्यसअघि केही पनि थाहा थिएन’ घर्तीले भने । उनकाअनुसार पार्टी जिल्लाले दाहालका लागि त्यस्तो ‘महत्वपूर्ण’ कार्यक्रम पनि तय गरेको छैन । एमाओवादी रोल्पाले जनाएअनुसार सोमबार साँझसम्म दाहालको टोली रोल्पाको होलेरी पुग्नेछ । यहाँ कार्यकर्ता, सहिद परिवार तथा सर्वसाधारणसँगको भेटघाटपछि दहबनमा रहेको पूर्व माओवादी लडाकुको शिविर निरिक्षण गर्नेछन् । त्यहाँ अहिले सशस्त्र प्रहरीको क्याम्प छ । त्यसपछि नुवागाउँमा पनि त्यस्तै भेटघाटको कार्यक्रम तय गरिएको छ । त्यसैगरी बाह्र बुँदे समझदारीको प्रारम्भिक सुरुवात बैठक गरिएको लोसिबाङ हुँदै घर्तीगाउँमा कार्यकर्ता भेटघाट गर्नेछन् । भूमिगत हुँदा आफूले लामो समय विताएको राङ्सीमा दाहालको टोलीले दोस्रो रात बिताउने बताइएको छ । २६ गते माडिचौरमा बास बसेर दाहाल २७ गते सदरमुकाम लिवाङमा आयोजना गरिएको आमसभालाई संबोधन गर्न पुग्नेछन् ।