Digital Newspaper of Nepal
| Wednesday, 20 June 2018
Subscribe Google+
Smart 4G

स्क्रब टाइफस त्रास बढ्यो

NIC Bank, Long AD

September 19, 2016

काठमाडौं ।स्क्रब टाइफसका कारण ६ जना विरामीको मृत्यु भइसकेपछि स्वास्थ्य सेवा विभागको टोलीले चितवनमा गरेको अनुसन्धानबाट यसको संक्रमण जंगली मुसामा पाइने किरा–माइटकै कारण भएको पत्ता लगाएको छ । विभागको टोलीले चार दिन लगाएर गरेको अनुसन्धानमा ७० प्रतिशत मुसामा स्क्रव टाइफस सार्ने किरा (माइट) भेटिएको हो ।
विभागको टोलीले अनुसन्धानका लागि थापेको धरापमा परेका १० वटा मुसामध्ये ७ वटा मुसाको कानमा माइट भेटिएको थियो । पछिल्लो समय स्क्रब टाइफसको संक्रमण देखिएको ३२ जिल्लामध्ये चितवनका विरामीहरुमा बढ्ता संक्रमण देखिएको थियो ।
अनुसन्धानका लागि स्क्रव टाइफसबाट संक्रमण भएर निको भएका बिरामीहरुको घर र त्यस वरपरका मुसाहरुलाई बिषेश रुपमा खोजी गरिएको थियो । अनुसन्धान अभियानमा स्वास्थ्य सेवा विभाग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडा र जिल्ला जनस्वास्थ्य कार्यालयका सदस्यहरु सहभागी थिए ।
नेपालमा स्क्रबको स्थिति
स्क्रब टाइफसका कारण देशभरको जनस्वस्थ्य क्षेत्रमा त्राश पैmलिएको । एक वर्ष अघिदेखि नेपालमा देखिएको स्क्रब टाइफस संक्रमणका कारण विभिन्न जिल्लामा गरी ६ जना विरामीको मृत्यु भइसकेको तथ्याङ्क छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार ३२ जिल्लामा २ सय २२ जना विरामीमा स्क्रब टाइफसको संक्रमण देखा परेपछि यो रोगले बिकराल रुप लिने खतरा बढिरहेको छ ।
महाशाखाका अनुसार चितवन, नवलपरासी, सिन्धुली, कैलाली, धनकुटा, भोजपुर, संखुवासभा, नुवाकोट, बागलुङ, गोरखा, बारा, पर्सा, महोत्तरी, सर्लाही, इलाम, मोरङ, सुनसरी, झापा, तनहुँ, रुकुम, मकवानपुर, काभ्रे, काठमाडौं, धादिङ, रुपन्देही, लमजुङ, तेह्रथुम, उदयपुर, गुल्मी, पाल्पा, प्युठान र रौतहटमा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । सामान्य अवस्थामा अस्पताल पुगिहाले सजिलै निको हुने यो रोगको उपचारमा ढिलाइ गरे ज्यानै जानसक्ने खतरा रहेको चिकित्सकहरुले वताइरहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमण न्यूनीकरण गर्न व्यापक पहल गरेको वताए पनि संक्रमणको ठोस कारण पत्ता नलाग्दा नियन्त्रणका कठिनाई भइरहेको छ ।महाशाखाले स्क्राब संक्रमण देखिएको जिल्लामा पर्याप्त मात्रामा औषधि पठाएको र नियन्त्रणका लागि सबै क्षेत्रबाट पहल भइरहेको जनाएको छ ।
स्क्रब टाइफस के हो ?
चिकित्सहरूका अनुसार स्क्रब टाइफस एक सामान्य रोग हो । तर उपचारमा ढिलाइ भए बिरामीको मृत्युसमेत हुन सक्छ । र यो सजिलै पत्ता लगाउँन नसकिने भएकाले उपचारमा पनि कठिानाई हुने गरेको छ । यो एक प्रकारको ज्वरोजन्य रोग हो । सामान्यतया जंगली झाडी र खुला ठाउँको बीचको भू–भागमा बढी प्रकोप हुने भएका कारण यो रोगको नाम स्क्रब टाइफस रहन गएको हो । यो रोग ओरियन्टिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सुक्ष्म कीरा (माइट)को टोकाइबाट फैलिन्छ । यस्तो कीरा मुख्यतः खेत, झाडी, घाँस, नदीको छेउछाउ आदि ठाउँमा रहने मुसा प्रजातिका जनावरमा पाइन्छ । यो रोग उत्पन्न गर्ने माइट सामान्यतया मुसाको कानमा गएर बस्छ अनि पूरै रस चुसेपछि आफैं झर्छ । मुसाको रगत चुसेर जिउने माइट नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ । र, माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु मानिसको शरीरमा प्रवेश गरेपछि संक्रमण हुने गर्छ ।
स्क्राब टाइफसको इतिहास
सन् १९३० मा जापानमा हासिमोतोले यो रोगको पहिचान गरेका थिए । त्यसपछि विश्वका विभिन्न मुलुकहरूमा यो रोग पहिचान हुँदै आएको हो । दोस्रो विश्वयुद्धका समयमा अमेरिकी आर्मीहरूमा यो रोगको व्यापक संक्रमण भएको थियो । आर्मीहरू जंगल तथा झाडीमा हिँड्नु र घस्रिनुपर्ने भएकाले उनीहरूमा यो रोग फैलिएको विज्ञहरू बताउँछन् । नेपालमा सर्वप्रथम सन् २००४ मा यो रोगको पहिचान भएको थियो । त्यसपछिका वर्षहरूमा फाट्टफुट्ट रूपमा देखिँदै गएको भए पनि अघिल्लो वर्षदेखि व्यापक विस्तार भएको छ । यो रोगको जिवाणुले मस्तिष्क, कलेजो, फोक्सो आदिमा थुप्रै प्रकारको संक्रमण फैलाउँछ र यस्ता बिरामी बहुअंग बिकार (मल्टीअर्गान डिस्अर्डर)को अवस्थामा पुग्छन् ।
स्क्रब टाइफसका लक्षण
चिकित्सकहरूका अनुसार यो रोगको संक्रमण भएपछि कतिपयको शरीरमा रातो बिबिरा देखिन्छ भने कतिपयमा नदेखिन पनि सक्छ । माइट नामक पराजिवीले टोकेपछि व्यक्तिमा स्क्रब टाइफसका लक्षण देखिन ५ देखि २० दिनसम्म लाग्छ । सामान्यतया जिवाणुले टोकेको ठाउँमा रातो डाबर देखिन थाल्छ र डाबरको बीचको भाग कालो देखिन सक्छ । रोगले संक्रमित व्यक्तिमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको संक्रमण हुने, काछमा गिर्खा आउने जस्ता लक्षणहरू देखिन सक्छ । मांशपेशी र पेटको दुखाइको अनुभव हुन्छ । चिकित्सकहरुका अनुसार कुनैकुनै अवस्थामा शरीरका विभिन्न भागहरूबाट रक्तश्राव हुने र रक्तनलीभित्रै रगत जम्ने, फोक्सोमा निमोनिया हुने, मुटुको मांशपेशीमा खराबी उत्पन्न गर्ने, मृगौलाको काममा खराबी देखिने र बेहोसी हुनेजस्ता बढी खतरनाक लक्षण र जटिलताहरू देखिन सक्छन् । जसकारण बहुअंग विकारको समस्या देखिन्छ र अन्त्यमा व्यक्तिको मृत्यु पनि हुन सक्छ ।
रोगको पहिचान
सामान्यतया बिरामीको समस्या सुनेपछि र आवश्यक शारीरिक जाँच गरेपछि अनुभवी चिकित्सकले यो रोग लागे÷नलागेको शंका गर्न सक्छन् । तर, यसको यकिन गर्न प्रयोगशालामा रगतको परीक्षण गर्नुपर्ने हुन्छ । प्रयोगशालामा कल्चर गरेर समेत यो किटाणुको पहिचान गर्न सकिन्छ ।
उपचार सम्भव छ
सुरुकै अवस्थामा पत्ता लागेको खण्डमा सामान्य औषधिले नै ठीक हुने यो रोगको समयमै उपचार नहुदा विरामीको मृत्यु समेत हुन सक्छ । चिकित्सकहरुका अनुसार ज्वरोको मात्रा धेरै भएमा एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने हुन्छ । एन्टिबायोटिक प्रयोग गर्न थालिएको केही दिनमा नै बिरामीको स्वास्थ्यमा सकारात्मक सुधारका लक्षण देखा पर्न थाल्छन् । घाँस भएको भुइँमा सिधै बस्दा वा पल्टिँदा स्क्रब टाइफसको परजीवी छालामा टाँसिन सक्ने सम्भावना धेरै हुने भएकाले कृषिकर्म गर्नेहरु बढी सचेत हुनु पर्ने चिकित्सकहरुको सुझाव छ । शरीर पूरै ढाकिने खालका लुगा लगाउने, जंगल र झाडीतिर धेरै हिँडडुल नगर्ने, जमिनको घाँसमा पल्टेर नबस्नेजस्ता उपाय अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।
स्क्रब ः भ्रम र सत्य
धेरैमा स्क्रब टाइफस मुसाको टोकाइले, जुम्रा या उपियाँको टोकाइले पनि सर्छ भन्ने भ्रम रहेको पाइएको चिकित्सकहरुले वताएका छन् । तर, यो संक्रमित लार्भा अवस्थाको माइटको टोकाइबाट मात्र मानिसमा सर्छ । जुन मुसामा पाइने परजिवि हो ।