Digital Newspaper of Nepal
| Monday, 24 September 2018
Subscribe Google+
Smart 4G

पौरखी चिनियाँः भाडामा बारी, नेपालीलाई तरकारी !

NIC Bank, Long AD

बाँझो बारीको सदुपयोग गर्दै चिनियाँ परिवार

December 21, 2017

पोखरा । नेपालका गाउँठाउँ घुम्दा देखे, सबै खेतबारी बाँझो छन् । मान्छेहरु सबैकुरा किनेरै खाइरहेका छन् ।’ यो देखेपछि उनलाई जुक्ति फुर्‍यो, अब यसैको फाइदा उठाउने र यहीँ खेतीकिसानी गर्ने । चीनको सुछाङ सहरका ३० वर्षे तन्नेरी स्याङ साओहुवा हुन्, उनी । काम नगरी किनेरै खाने नेपाली देखेपछि जागेको उनको जुक्ति अहिले पोखरा रिठ्ठेपानीमा हरियो बनेर फलिरहेको छ । अहिले तिनै चिनियाँ किसानको बारी तरकारीले ढकमक्क छ । नेपाली माटो र यहाँको समाज देखेर तरकारी खेती थालेका स्याङले अहिले ख्याती कमाएका छन् । नेपालीको बारीमा तरकारी फलाएर उनीहरुलाई नै बिक्री गर्ने उनको सपनाले फलिफाप भइरहेको छ । ३५ रोपनी भाडामा लिएका छन्, सबै काम आफैं गर्छन् । ‘तरकारीका लागि टहरा निर्माणदेखि, तरकारी लगाउने, तरकारी बजार पुर्‍याउने सबै काम आफैं गर्छु,’ स्याङ भन्छन् । जीवनसंगीनी थाङ्लई उनलाई सघाउँछिन् । अब त नेपालीमै बोल्न अभ्यस्त भइसकेका छन्, उनी । एउटा चिनियाँ ठिटो किन यसरी खेतीकिसानी गर्न लालायित भयो त रु उनले आफ्नै गाउँको पृष्ठभूमि बाँधे । आफ्नै शहरको कथाबाट उनले कुराकानीको मेलो बढाए । ‘उद्यम नगरी कसैले खानै पाउँदैन’ चीनमा बच्चा जन्मेपछि उसको नाममा सरकारले एक रोपनी जग्गा दिन्छ, खेती किसानी गर्न । त्यो जग्गामा कसैले दाबी गर्न पाउँदैन । जब उसको मृत्यु हुन्छ, त्यो जग्गा फेरि सरकारकै हुन्छ । यसो गर्दा कुनै जमिन बाँझो रहन पाउँदैन । खेती किसानी नै गर्न पनि प्रशस्त जग्गा हुँदैन । कुनै न कुनै उद्यम नगरी कसैले खानै पाउँदैन । ६ कक्षा पढ्दै गर्दा उनलाई सोधिएछ, ‘अब कुन पेसातिर लाग्ने रु’ उनले भनेछन्, कृषि । विद्यालयले नै उनलाई व्यावसायिक कृषिमा लगाइदियो । ‘मसँग किताबी ज्ञान छैन तर मैले सानैदेखि जानेको, सिकेको पेसा भनेकै कृषि हो,’ उनी भन्छन्, ‘कृषि नै हाम्रो आधार । केही न केही गर्नैपर्छ, नत्र त खानै पाइँदैन ।’

सम्भावना देखेपछि परिवारै नेपालमा :

सन् २००९ मा उनी नेपाल घुम्न आएका रहेछन् । त्यही क्रममा उनी आइपुगे पोखरा । ‘नेपालका अन्य ठाउँ पनि घुमेको छु तर पोखरामा जत्तिको अन्त मन रमाएन’ उनी भन्छन्, ‘न बढी गर्मी न बढी चिसो । यस्तो ठाउँमा कुनै कर्म गरेर बस्न पाए हुन्थ्यो भन्ने मनमा जाग्यो ।’ पोखरासँगै आसपासका गाउँठाउँ पनि उनी घुमे, त्यस क्रममा । त्यस वर्ष उनी चिनियाँ गाउँ सुछाङ फर्के । अर्को वर्ष अर्थात् सन् २०१० मा उनको जोडी बिजनेस भिसामा नेपाल ओर्लियो । करिब १५ लाख रुपैयाँ बोकेर आएका उनीहरु पोखरामा जग्गाको खोजीमा लागे । उनी आएर खेतीपाती गर्न लागेको वर्षदिनपछि उनका ससुरालाई पनि पोखरा झिकाए । उनी पनि अहिले सँगै काम गर्छन् । एक रोपनीको वाषिर्क ११ हजार रुपैयाँ दिने गरी १५ रोपनी भाडामा लिएर उनीहरुले तरकारी खेती थाले । खर्च कटाएर वर्षको १० देखि १५ लाख कमाए । हेम्जामा तरकारी खेती त राम्रो थियो तर बाटोको समस्या भएपछि उनले विकल्प खोजे । ‘जग्गा भाडामा लिनेबेला बाटोको निकास गराइदिन्छु भने तर गराइदिएनन् । विकल्प खोज्दै जाँदा लेखनाथ रिठ्ठेपानीमा पाइयो,’ उनी भन्छन् । एउटै व्यक्तिको ३५ रोपनी जग्गा आठ वर्षका लागि भाडामा मिलेपछि उनीहरुले यसै सालदेखि रिठ्ठेपानीमा आधुनिक प्रणालीबाट कृषि कर्म गरिरहेका छन् । हेम्जामा गरेको खेतीपातीको आम्दानीले रिठ्ठेपानीमा लगानी गरेका हुन् । चार जना आवासीय र १२र१५ जना दैनिक ज्यालादारीमा काम गर्ने नेपाली छन्, उनको फार्ममा ।

नेपाली युवा विदेश जान्छन् अरुले खेती गर्दैनन् :

नेपालीप्रति उनको दृष्टिकोण के हो त रु ‘अधिकांश काम गर्न सक्नेहरु विदेश जान्छन्, सम्पत्तिवाला कृषिलाई व्यवसाय ठान्दैनन्, म सोच्छु गाउँका यतिका खेतबारी बाँझै राखेर मान्छे किन विदेश जान्छन्,’ उनी भन्छन् । उनले काम गरिरहेको ठाउँमा आसपासका बालबच्चा पनि आइपुग्छन् । उनले तिनीहरुलाई जिस्क्याउँदै सोध्छन्, ‘तिमीहरुले ठूलो भएपछि के गर्छौ, मैलेजस्तै काम गर्छौ त रु’ उनीहरुले सजिलै जवाफ फर्काउँछन्, ‘हामी विदेश जाने हो ।’ ‘कसैले पढ्न जाने भन्छन्, कसैले काम गर्न । विदेश जानेचाहिँ भन्दारहेछन्,’ उनी भन्छन् । रोजगारीको खोजी गर्दै लाखौं नेपाली युवा विदेशमा भौतारिरहेका बेला चिनियाँ युवा स्याङ साओहुवा भने नेपाली माटोमा श्रम र पसिना खर्चेर तरकारी फलाइरहेका छन् कृषिकर्म चीनमा भन्दा यहाँ जोखिमपूर्ण रहेको उनको बुझाइ छ । भन्छन्, ‘उताको खेतीपाती प्रविधियुक्त छ, सबै काम मेसिनले गर्छ । यहाँ कृषिकर्म जोखिमपूर्ण छ, सबै काम हातैले गर्नुपर्छ ।’ कृषि प्रालि दर्ता गरेर उनीहरुले व्यावसायिक खेतीलाई बढाइरहेका छन् । त्यही कृषिकर्म हेर्न थुप्रै नेपाली पुग्छन् तर आफूले भने प्रयास गर्दैनन् ।

‘तरकारी बजारको समस्या छैन’ :

‘तरकारीलाई बजारको समस्या छैन, धेरैजसो तरकारी चिनियाँ व्यापारीले नै किन्छन्, सब्जीमडडीमा पनि जान्छ,’ स्याङ भन्छन्, ‘बीउ केही उतैबाट ल्याउँछु, केही यतै किन्छु । सबैभन्दा राम्रो बजार चिनियाँ सागको छ ।’ तरकारी नबिक्ला भन्ने चिन्ता कहिल्यै लिनु नपरेको उनको भनाइ छ । भन्छन्, ‘फलाउनुपर्छ बजारको त समस्यै छैन । बरु पुर्‍याउनै सकिँदैन ।’ बजारले केको माग गर्छ र आफूले के दिन्छु भन्ने कुराले फरक पार्ने उनी बताउँछन् । एकै सिजनमा सबै तरकारी रोप्ने नभई पालैपालो लगाउनुपर्ने उनी बताउँछन् । अहिले उनको फार्ममा कतै साग टिप्ने चटारो छ त कतै आलु खन्ने बेला भएको छ । कतै काउली टिपेर बजार पुग्दै छ त कतै काउली गोड्ने काम भइरहेको छ । कतै तरकारीको नर्सरी जमाउने काम भइरहेको छ भने सँगै निर्माणको काम सँगैसँगै भइरहेको छ ।‘मिलाएर लगाउने हो बाह्रै महिना तरकारी बेच्न पाइन्छ । आम्दानी भइरहन्छ । न काम खाली भयो न पैसाले हात खाली,’ उनी भन्छन् ।

रुटिङमा चल्ने, गर्दै जाने, सिक्दै जाने :

उनी बिहान ढिलोमा साढे ६ बजे उठेर काममा लाग्छन् । ससुरा पनि निस्किन्छन्, पछिपछि । श्रीमती खाजा बनाउन लाग्छिन् । कम्तीमा साँझ ६र७ बजेसम्म काम गर्ने स्याङ बताउँछन् । ‘उता पालो गरेर सातामा एकदिनबाहेक अरु दिन काममा बिदा लिइन्नथ्यो, यता पनि त्यही हो,’ उनी भन्छन्, ‘व्यावसायिकतामा सबैभन्दा ठूलो समय व्यवस्थापन हो । नेपालीमा अलि बढी त्यो कमजोरी देखेको छु ।’ खेतीपातीसँगै गाडी बनाउने, घर बनाउने, वेल्डिङ गर्नेजस्ता सीप छ, उनीसँग । ‘जे पर्छ आफैं गर्ने हो । सीप जे पनि सिक्दा हुन्छ,’ उनी भन्छन्, ‘कम्तीमा अरु कोही मान्छे त खोज्नु पर्दैन ।’ उनको चिनियाँ गाउँमा ठाउँ छुट्याएर धान, गहुँ, मकै, तोरी र तरकारी खेती व्यावसायिक रुपमा हुँदोरहेछ । सरकारले ८० प्रतिशतसम्म अनुदान दिन्छ, चीनमा । व्यावसायिक तरकारीमा जोड दिए पनि ठाउँ प्रशस्त भएकाले ठाउँ छुट्याएर थोरैथोरै ती सबै खेती गर्ने उनको भनाइ छ । ‘नेपाल कति बस्छु भन्ने त थाहा छैन तर जति बस्छु, यसैलाई निरन्तर र व्यावसायिक बनाउँदै लैजान्छु,’ उनले कुराकानीको बिट मार्न खोजे, ‘आफू खान पुग्ने मात्रै भए पनि केही खेतीकिसानी गर्ने हो भने धेरै संकट टर्छ ।’