Digital Newspaper of Nepal
| Wednesday, 22 August 2018
Subscribe Google+
Smart 4G

कोही पुगे अमेरिका कोही क्यानडा, ८ हजार भुटानी शरणार्थीको भविष्य अझै अन्योलमा ?

NIC Bank, Long AD

December 26, 2017

काठमाडौं । अहिले पनि ८ हजार भन्दा बढी भुटानी शरणार्थीहरु शिविरमै छटपटाइरहेका छन् । विगत लामो समयदेखि चल्दै आएको शरणार्थी समस्याको धेरै हदसम्म टुंगो लागे पनि ८ हजार हाराहारी शरणार्थीको कुनै टुंगो लाग्न सकेको छैन । त्यसोत अझैपनि नेपालको विभिन्न शिविरहरुमा नेपाली भाषी भुटानीहरु शरणार्थीहरु कष्टकर जीवन बिताउँन वाध्य छन् ।
यो दृश्य हो झापाको बेलडाँगी स्थीत रहेको शरणार्थी शिविरको हो । हुन त शरणार्थी जिवन कस्को पो सजिलो हुन्छ र तैपनि शरणर्थीको जिवन बिताईरहेका उनीहरुको जिवनशैली निकै कष्टकर छ ।

दुई दशक देखि शरणार्थी जिवन बिताउँदै आएका उनीहरुको आफ्नो घर फर्कने चाहना असम्भव जस्तै भएको छ । सन् २००८ मा शिविरमा बस्दै आएका शरणार्थीहरुलाई तेस्रो मुलुकमा पुनस्र्थापना सुरु गरियो । यतिबेला १ लाख १० हजार शरणार्थीहरु अन्य तेस्रो मुलुकमा पुगेका छन् ।

जसमा ९० हजार शरणार्थीहरु अमरीकातर्फ प्रस्थान गरे भने अन्य क्यानडा, अस्टे«लिया, बेलायत, डेनमार्क र नेदरल्याण्डतर्फ प्रस्थान गरिसकेका छन् तर आठ हजार जति शरणार्थीको भने अझै पनि विजोग छ ।

धेरै ठुलो सङ्ख्यामा शरणर्थीहरुर्ला अन्य देशमा पुर्नस्थापना गरिए पनि अझै पनि नेपालमा ८ हजार भन्दा बढी शरणार्थी बाँकी नै छन् । अहिले नेपालमा जो बाँकी छन् उनीहरु अशक्त, बुढाबुढी, पश्चिमा मुलुक जान नचाहाने, जान चाहेर पनि छुटेका र आपराधिक पृष्ठभूमी भएका मात्रै बाँकी छन् । बिशेषगरी बृद्धबृद्धाहरुले तेस्रो मुलुकमा अवसर नै पाएनन् । परिवारका अन्य सदस्यहरु अन्य मुलुकमा भएपनि ती बृद्धबृद्धाहरु भने अझै पनि नेपालकै शिबिरमा रहँदै आएका छन् ।

उनिहरुको परिवारका सदस्यहरु तेस्रो मुलुकमा भए पनि आफुहरु सकेसम्म भुटान नै फर्कने नभए पनि नेपालमै बस्ने इच्छा ब्यक्त गरिरहेका छन् ।अहिलेको अवस्थामा तेस्रो मुलुक पुर्नवाससँगै शरणार्थीको भुटान फर्कने आशामा लगभग पूर्णबिराम लागेको छ । लगभग १ लाख ३० हजारको संख्यामा रहेका शरणर्थीलाई स्वदेश फर्काउने प्रयास असफल भएपछि सन् २००८ देखि अमेरिका, क्यानाडा लगायतका ८ देशमा पुर्नस्थापना प्रक्रिया सुरु गरिएको थियो । अहिलेसम्म करिब १ लाख १० हजार शरणर्थी तेस्रो मुलुुकमा पुर्नस्थापित भईसकेका छन् । बाँकी दर्ता बिहीन १ हजारसहित करिब ८ हजार शरणार्थी झापाको बेलडाँगी र मोरङ्गको शनिश्चरे शिविरमा बसिरहेका छन् ।

स्वदेश फर्किने आशा मारेर तेस्रो मुलुक पुनर्वास भएकाहरुका धेरैको आफन्त र परिवार अझै शिविरहरुमा छन् । तेस्रो देश पुनर्वास कार्यक्रम बन्द भएपछि भने भुटानी शरणार्थीको अवस्था के हुने हो ? भन्ने स्थिती सिर्जना भएको छ ।
लामो समय चलेको विवाद र १५ औं चरणसम्मको वार्ता असफल नभएपछि युएनएचसीआरले तीनवटा प्रस्ताव अगाडि सारेको थियो, जस्मा तेस्रो देश पुनर्वास, भुटान फिर्ती र नेपालमै समायोजन हुने प्रस्ताव थिए ।

तीनवटै प्रस्ताव एकैपटक खुला गर्ने भनिए पनि युएनएचसीआरले आजसम्म पनि एउटा प्रस्ताव मात्रै कार्यन्वयनको प्रक्रियामा लगेको छ । जसले गर्दा स्वदेश फिर्न चाहने शरणार्थीहरु आक्रोसित छन् भने, धेरै जसोले स्वदेश फिर्ने आशा मरीसकेको बताएका छन् ।.

यसरी भुटानी शरणर्थीको दिगो व्यवस्थापनका लागि आवाज बर्षौंदेखी आवाज उठेको उठ्यै छ । भुटानी शरणार्थीलाई पुनर्वासमा तेस्रो देश लैजाने ‘कार्यक्रम बन्द भएको’ भन्दै दातृ निकायले डिसेम्बर पछि ‘थर्ड कन्ट्री सेटलमेन्ट’ का कुनै प्रक्रिया नबढाइने जनाइसकेको छ ।

तेस्रो मुलुक कुनै हालतमा नजाने भन्दै बसेका र दर्ता बिहीन भुटानी शरणार्थीको भविश्य के हुने हो त्यसको निक्र्योेल भएको छैन । भुटार्नी शरणार्थी समन्वय इकाई संयोजक समेत रहेका झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शरणार्थी समस्याका लागि सरकार र दातृ निकायहरुले केही कदम चाल्ने विश्वास व्यक्त गरे ।

भुटानमा आफ्नो अधिकार खोज्दा खोज्दै राष्ट्रियता हरणमा परेका शरणार्थीलाई भारतले स्वदेश फिर्ने बाटो नदिदा र तेस्रो मुलुक पुर्नवास कार्यक्रमले आफ्नो देश, राष्ट्रियता र भूटान फिर्ने बर्षौं देखिको चाहनाबाट उनिहरु बिचल्लीत भएका छन् । र, अहिले बाँकी रहेका ८ हजार शरणार्थीलाई के गर्ने भन्ने बिषयले निक्र्योल पाउन सकेको छैन ।

सन् १९८८ मा भुटान सरकारले गरेको जनगणनामा दक्षिणी भुटानमा बसोवास गर्ने नेपाली भाषी भुटानी नागरिकलाई गैरनागरिक घोषणा गरे पछि भुटानमा प्रजातान्त्रिक आन्दोलन शुरुसँगै राज्यले दमनको शुरु भएको थियो ।

भुटान सरकारले आफ्नै नागरिकलाई प्रहरी र सेनाले पक्राउ गर्ने, यातना दिने, सम्पति लुट्ने, बलत्कार, हत्या गर्ने र देशद्रोहीको आरोप लगाउँदै देशनिकाला ग¥यो । सरकारको दमन सहन नसकी कयौ शरणार्थीले देश छाड्न बाध्य भएका थिए ।
भुटान छाडेर भारतको आसाम र पश्चिम बङ्गालमा शरण लिइरहेका भूटानी नागरीकलाई भूटान र भारत सरकारले जवरजस्ती पुर्वी नेपालको काकरभिट्टामा ल्याई अलपत्र छाडेका थिए ।

त्यसपछि उनिहरु शरणार्थीको रुपमा नेपालमा बस्न बाध्य भएका हुन् । नेपाल सरकारले दातृ निकायको सहयोगमा शरणर्थीलाई पुर्वी नेपालमा बिभिन्न शिबिर खडा गरी बस्ने अनुमती प्रदान गर्यो ।

शुरुमा करीब एकलाखको संख्यामा रहेका शरणार्थीले पटक पटक स्वदेश फिर्ती आन्दोलन गरे पनि भूटान सरकार र भारत सरकारको षड्यन्त्रले सफल हुन सकेको थिएन । भुटान पिपुल्स पार्टी, भुटानी शरणार्थी प्रतिनिधी स्वदेश फिर्र्ती समिति, भुटान गोर्खा मुक्ति मोर्चा लगायतका राजनीतिक दल र मानवअधिकारवादी संघ सस्थाले स्वदेश फिर्र्तीका लागि पटक पटक आन्दोलन गरे पनि भुटान सरकारले आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेन ।

शरणार्थीलाई भारत सरकारले पटकपटक मेची पुलबाट भारत हुुदै भूटान जाने कुरामा अवरोध गरेको थियो । सन् २००७ को मई २८ बाट सुरु गरेको शरणार्थीको स्वदेश फिर्ति आन्दोलनमा भारतले बर्वर दमन ग¥यो ।

भारतीय प्रहरीको गोलीबाट सहबहादूर शिवाको मृत्यु भएको थियो भने दर्जनौ घाईते भएका थिए । बिसौं हजार शरणार्थीको स्वदेश फर्कने प्रयास भारतीय दमनका कारण सफल हुन सकेन । शरणार्थीले हामी जुन बाटो आयौ, त्यही बाटो फर्कन देउ भन्दै मेची फुल तर्न खोजे पनि भारतले अवरोध खडा ग¥यो ।

शरणार्थीले महात्मा गान्धीको फोटो राखि मेची पुलमा कयौ पटक धर्ना र अनशन बसे तरपनि शरणार्थीलाई स्वदेश फर्कन भारतले बाटो दिएन । दर्जनौ दल र मानवअधिकारवादी संघ सस्थाले आन्दोलनको प्रयास गरे तरपनि स्वदेश फिर्तिको आन्दोलन मेची पुल तर्न सकेन र वाध्य भएर तेस्रो देश पुर्नस्थापना रोज्न वाध्य भएको अर्गनाइजेशन अफ भुटनिज कम्युनिष्टी इन अमेरिकाका अध्यक्ष दिलिप दाहाल बताउँछन् ।

नेपालमा रहेका भुटानी शरणर्थीलाई स्वदेश फर्काउन नेपाल सरकार र भुटान सरकारबीच विभिन्न चरणमा वार्ता भइसकेको छ । अहिलेसम्म नेपालले शरणार्थी समस्या निराकरणको लागि १५ पटक सम्म वार्ता गरिसकेको छ ।

तर भुटान सरकार उनीहरुलाई फिर्ता लैजाने विषयमा कहिल्यै पनि सकारात्मक भएको छैन । शरणार्थी समस्याको निराकरणको लागि तीन ओटा विकल्पहरु रचिएका थिए । त्यसमा उनीहरुलाई तेस्रो मुलुकमा लैजाने, भुटान नै फिर्ता पठाउने र नेपालमा नै स्थापित गराउने रहेको छ ।

तर यी तिन विकल्प मध्ये पहिलो विकल्प अर्थात अन्य देशमा लैजाने बाहेक अन्य विकल्पमा कुनै प्रक्रिया अगाडी बढेको छैन । अहिलेको अवस्थामा तेस्रो मुलुकमा लैजाने विकल्प भर्खरै बन्द भएको छ ।

अब बन्ने नयाँ सरकारले यसको निचोड खोज्नु नितान्त आवश्यक देखिएको छ । भुटान सरकारसंग १६ औँ पटक वार्ता गरेर उनीहरुलाई भुटान पठाउने हो वा नेपालमै स्थापित गराउने हो भन्नेमा निष्कर्ष खोज्नु जरुरी छ भन्छन् दाहाल ।

भारतको अवरोध, भूटानका राजनीतिक पार्टी बीचको बिभाजनले शरणर्थीको घर फर्कने सपना कहिल्यै पुरा हुन सकेन । शरणार्थी भएर बस्न बाध्य हुनु उनीहरुको आफ्नै दुखको पाटो त छदै छ नै साथै यो नेपालको पनि एउटा गम्भिर समस्या हो । शरणार्थी समस्याको दिर्घकालिन समाधान गर्न कहाँ बाट, कसरी र कसले के पहल गर्ने हो त्यसैमा उनिहरुको अनिश्चित भबिष्यको निश्चितता निर्धारण हुनेछ ।

त्यसकारण अब नेपाल सरकारले कि त भुटान फर्काउनु पर्ने कि त नेपालमै आठ हजार भुटानी शरणार्थी राख्न पहल गर्नुपर्ने माग भुटानी शरणार्थीहरुले गर्दै आएका छन् ।