Digital Newspaper of Nepal
| Sunday, 24 March 2019

सरकार भन्छ: मेलम्ची पानी बैशाखमै आउँछ

प्राविधिक भन्छन् यो अन्तिम झुठ हो

December 31, 2017

मेलम्ची । सरकारले ‘बैशाखमै मेलम्ची आउँछ’ भनिरहेको छ । काठमाडौंबासी पनि त्यही आशमा छन् । तर, मेलम्ची आयोजनामा कार्यरत प्राविधिकहरु ‘बैशाखको भाका’लाई चुनौतीपूर्ण मान्छन् । दोस्रो सुरूङ खण्डको ब्रेक थ्रु समारोहमा मेलम्चीमै भेटिएका कतिपय प्राविधिक यसलाई सरकारले बोलेको मेलम्चीका लागि ‘अन्तिम झुठ’ को संज्ञा दिए ।शनिबार भएको ग्यालथुङ अम्बाथान सुरुङ खण्डको ब्रेक थ्रुले सकारात्मक सञ्चार गरेको छ । शनिबारसम्म सिन्धु(ग्यालथुङ खण्डको ४४३ मिटर मात्रै सुरुङ खन्न बाँकी छ । निर्माण सुरू भएको ९ वर्षपछि मात्रै मेलम्चीले नयाँ आश जगाउन सकेको छ । त्यसअघि कागजी प्रक्रियामै एक दशक बढी अल्मलिएको मेलम्चीको सरूङमा अन्तिम ब्रेक(थ्रु हुन बाँकी छ । तर, त्यो हुनासाथ बैशाखसम्म सिन्धुपल्चोकको पानी काठमाडौंमा झार्न भने मेलम्ची खानेपानी आयोजनालाई कम्ता चुनौती छैन । ब्रेक थ्रुपछि खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रजाक, सिँचाई सचिव गजेन्द्र ठाकुर मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले वैशाखसम्म पानी काठमाडौं पुर्‍याउने गरी काम भइरहेको बताए । तर, मेलम्चीको चुनौती प्रशस्तै रहेको पनि स्वीकारे ।

‘नयाँ वर्षमा काठमाडौंमा पानी लैजाने गरी काम भइरहेको छ । तर, सिन्धु(ग्यालथुङ खण्डको अबको बाँकी खण्ड छिचोल्न अली बढी चुनौती छ, बाँकी खण्ड खन्न अली बढी चुनौती छ,’सचिव ठाकुरले भने,’ नरम चट्टानका कारण सो खण्डको ब्रेक(थ्रु अली बढी असजिलो छ । तर, समयमै काम गर्न हामी प्रतिवद्ध छौं ।’ मेलम्चीको झण्डै २८ किलोमिटर खण्डमध्ये अब ४ सय मिटर मात्रै बाँकी रहेकाले सरकारी अधिकारी उत्साहित छन् । त्यसैले उसले अहिलेसम्म मलम्चीको वैशाखको भाका सारेको छैन । केही सरकारी अधिकारी भने वैशाखको भाका चुनावमा भोट जोगाउन मात्रै राखिएकाले अब म्याद नथपी नहुने बताइरहेका छन् । ‘नेताहरुले प्राविधिक रुपमा सम्भब छरछैन भन्ने नबुझी आफू चर्चित हुन मात्रै नजिकैको भाका राखिदिएका छन्, त्यसले नागरिकलाई पटक(पटक छल भएको छ, मेलम्ची आयोजनाका अति अधिकारी भन्छन्,’ लोकप्रिय हुन र भोट जोगाउन मात्रै नहुने कुरा बोलिदिँदा आयोजना धेरै आलोचित भयो । राजनीतिक तहले तथ्यमा के छ भनेर नहेर्दा फेरि उनी त्यही समस्या दोहोरिने अवस्था छ ।’

उनले फेरि आयोजनाको म्याद धकेलिन सक्ने संकेत मात्रै गरे । आयोजनामा काम गरिरहेका इन्जिनियर तथा प्राविधिकहरु पनि वैशाखसम्म काठमाडौंमा पानी नझर्ने ठोकुवा गरिरहेका छन् । हेडर्वक्स मै धेरै काम बाँकी रहेको, सुरुङको फिनिसङ पनि नभएको र एउटा खण्ड ब्रेक(थ्रु हुनै बाँकी रहेकाले वैशाखमा काठमाडौंमा पानी पुर्‍याउने कुरा प्राविधिक रुपमा सम्भव नहुने उनीहरुको तर्क छ ।नाम नबताउने सर्तमा सुरुङ निर्माणको लागि खटिएका एक इन्जिनियरले अबको दशैंसम्म पनि काठमाडौंमा पानी पुर्‍याउन मुस्किल पर्ने बताए । उनले अर्को हिउँदसम्म काठमाडौंमा मेलम्ची पुग्ने कुरा भने सुनिश्चित रहेको बताए । तर, बैशाखमै पानी काठमाडौंमा झार्ने कुरा अबको कामको गति र सरकारले बनाउने वातावरणमा निर्भर हुने बताए ।

‘अन्तिम समयमा फेरि म्याद थप्ने गरी अहिलेसम्म वैशाख वैशाख भनिँदैछ । प्राविधिक रुपमा गर्नुपर्ने कामहरुलाई गम्भिरताका साथ अघि नबढाएसम्म वैशाखमा काठमाडौंले पानी पाउँदैन,’ उनी भन्छन्,’मेलम्चीबाट प्राविधिकले दिएको सन्देश भनेर लेखिदुनुहोला(काठमाडौंले वैशाखमा पानी आउँछ भनेर आश गरोस्, भर नपरोस् ।’मेलम्चीको सुरुङमा मात्रै हैन, हेडर्वक्समा पनि अहिले विभिन्न निर्माणका काम चलिरहेको छ । अम्बाथानभन्दा केही माथि मेलम्चीको पानी थुनेर सुरुङमा हाल्ने योजना छ ।त्यहाँ करिब ५ मिटरभन्दा अग्लो बाँध बाँधेर मात्रै मेलम्चीलाई सुरुङमा हाल्न मिल्छ । अहिलेसम्म त्यहाँ बाँध निर्माणको काम सुरु भएकै छैन । नाम नबताउने शर्तमा प्राविधिहरु वैशाखसम्म बाँध निर्माणको काम सक्न चुनौती रहेको बताउँछन् । त्यस्तो बाँध प्राविधिक रुपमा बलियो हुनुपर्ने भएकाले पनि काम सुरु गरेर फटाफट सक्न चुनौती हुने उनीहरुको दावी छ ।

त्यसैगरी हेडर्वक्समा पानी फिल्टरेशनको संरचना नै बनाइएको छैन । तर, काठमाडौं पानी लैजान यो संरचना नबनेपनि समस्या भने हुने छैन । तर, पनि यो काम समेत छिटै सक्नुपर्ने अवस्था भने छ । नत्र सुरुङमा बालुवा र ढुंगा थुप्रने खतरा बढी हुन्छ । मेलम्चीका अबको अर्को मुख्य काम हो, सुरुङको फिनिसिङ । अहिलेसम्म ३ किलोमिटर सुरुङको मात्रै प्लास्टर सकिएको छ । बाँकी करिब २५ किलोमिटर सुरुङको फिनिसिङका लागि भर्खरै ८ वटा नयाँ मिक्स्चर मेसिन आइपुगेको छन् । mअब सुरुङ फिनिसिङको काम तीव्र पार्ने योजना बनाइएको छ । सुरुङ फिनिसिङको काम जति छिटो सकिन्छ, त्यति नै काठमाडौंमा पानी आउने समय नजिकिनेछ । त्यसपछि अडिट सुरुङहरु थुन्ने काम पनि गर्नुपर्नेछ । अडिट सुरुङ थुन्ने काम भएपछि मात्रै सुरुङमा पानी हाल्न सकिन्छ । मेलम्चीलाई वैशाखमै सक्न चुनौती थपेको छ, सिन्धु(ग्यालथुङ सुरुङ खण्डले । जहाँ नरम चट्टान भेटिएर समस्या परेको बताइँदैछ । सुरुङ खन्दा नरम चट्टान भेटिँदा काम सुस्त गर्नुपर्छ । नरम चट्टान क्षेत्रमा काम गर्नेहरु दुर्घटनाको जोखिममा हुन्छन् भने माटो भासिएर सुरुङ खुम्चिने खतरा पनि उत्तिकै हुन्छ । विष्फोटक पार्थ प्रयोग गर्न पनि समस्या पर्छ । त्यसैले कडा चट्टानमा जस्तो नरम चट्टानमा काम गर्न सकिँदैन । तर, पनि जनवरीभित्रमा जसरी पनि यो खण्डको ब्रेक(थ्रु गर्ने दावी गर्छन्, आयोजना प्रमुख देवकोटा । उनी सुरुङ निर्माण र फिनिसिङको काम समानान्तर रुपमा अघि बढाइने भएकाले अहिलने नै वैशाखमा पानी आउने विषयमा आशंका नजनाउन आग्रह गर्छन् ।

तर, मेलम्चीका साइटमा भेटिएका केही पनि इन्जिनियर अनौपचारिक कुराकानीमा यसलाई ‘असम्भव’ मान्छन् । सरकारले वातावरण बनाउन सके मात्रै वैशाखबाट काठमाडौंले मेलम्चीको पानी पिउन पाउने उनीहरुको तर्क छ ।
‘वैशाखमा मेलम्चीको पानी आउने कुरा अन्तिम झुठ हो । यो पछिको तोकिने भाकामा भने काठमाडौंमा पानी जसरी पनि पुग्छ,’ अर्का एक इन्जिनियर भन्छन्,’काम धेरै बाँकी छन् । तर, धेरै अप्ठेरा काम सकिएका पनि छन् । त्यसैले सरकारले वैशाखमा आउँछ भनेपछि भनेपछि अपेक्षा गर्न सकिन्छ । विश्वास नै चाँही नगरिहालौं ।’ मेलम्चीको सुरुङ निर्माणको काम इटालीको कम्पनी को(अपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी  सीएमसीले गरिरहेको छ । उसका प्राविधिकहरु पनि काम तीव्र गतिमा भइरहे पनि सरकारले तोकेको वैशाखको समयसीमालाई ‘चुनौतीपूर्ण’ भनिरहेका छन् । सरकार भने वैशाखमा जसरी पनि मेलम्चीलाई काठमाडौंमा झार्ने दावी गरिरहेको छ । अब सरकरको भनाइ मान्ने की प्राविधिकको कुरा पत्याउने , त्यो जिम्मा काठमाडौंबासीसँगै छ।