Digital Newspaper of Nepal
| Thursday, 24 May 2018
Subscribe Google+
Smart 4G

मन्त्री बलायरको पत्रकारलाई धम्की: तिमी मसँग जोरी खोज्ने ? तिमीलाई ठिक पारिदिन्छु

NIC Bank, Long AD

January 5, 2018

काठमाण्डौं । भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री वीरबहादुर बलायरले नयाँ पत्रिकाका डोटी सम्वाददाता कर्णबहादुर चन्दलाई टेलिफोनमार्फत धम्की दिएका छन् । बिहीबार राति ९ बजेर २३ मिनेटमा मन्त्री बलायरले जिएसएमको पोष्टपेड मोबाइलबाट आफूलाई धम्की दिएको पत्रकार चन्दले आरोप लगाएका छन् । ‘उहाँको फोन आयो, मैले रिसिभ गर्दै मन्त्रीज्यू नमस्कार भने, उताबाट त ‘तिमी मसँग जोरी खोज्ने, तिमीलाई ठिक पारिदिन्छु’ भन्दै धम्की आउन थाल्यो’ सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का प्रदेश समिति सचिव समेत रहेका चन्द भन्छन् ‘के कारण मलाई धम्की दिए भन्ने कुरा नै थाहा भएन ।’




पत्रकार चन्दले आफूले मेरो गल्ती के हो भनेर सोध्दा समेत मन्त्रीले धम्कीपूर्ण भाषा मात्रै बोलेको तर कारण नभनेको बताउनु भयो । ‘राति धम्की आएपछि आफूले धम्की दिनुको कारण सोध्नका लागि शुक्रबार बिहानै फोन गरे’ पत्रकार चन्द भन्छन् ‘तर पनि उहाँले न कारण बताउनु भयो न भाषा फेर्नु भयो ।’ मन्त्री बलायरसँग शुक्रबार बिहान भएको टेलिफोनको रेकर्ड आफूसँग सुरक्षित भएको पत्रकार चन्दले बताउनुभयो । उक्त घटनाप्रति प्रेस चौतारी र प्रेस सेन्टर डोटीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीको धम्कीपूर्ण भाषाले पत्रकारहरुलाई असुरक्षित महसुस गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ ‘उक्त धम्कीले पत्रकारिता क्षेत्रमा कार्यरत पेशागत संघ-संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त धम्कीपूर्ण भाषाको घोर भत्र्सना र विरोध गर्दछौं ।’  विज्ञप्तिमा कुनै समाचारको विषयमा असहमति भएमा प्रेस काउन्सिल नेपालमा प्रमाणसहित लिखित उजुरी दिन सक्ने वा अदालत जान सक्ने कानूनी व्यवस्था हुँदाहुँदै पनि मन्त्री बलायरले बिना कारण धम्की दिनुले प्रचलित ऐन कानून तथा प्रेस स्वतन्त्रताको उपहास भएको उल्लेख गरिएको छ । श्रोत: उज्यालो अनलाइन