Digital Newspaper of Nepal
| Monday, 24 September 2018
Subscribe Google+
Smart 4G

म्याग्दीको समृद्धिः‘रेमिट्यान्स र प्राकृतिक श्रोतको फ्यूजन’

NIC Bank, Long AD

January 14, 2018

म्याग्दी ।शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले छैटौं म्याग्दी महोत्सवको उद्घाटन गर्दै म्याग्दी जिल्लासँग आफ्नो नजिकको सम्वन्ध रहेको र यस जिल्लाको समृद्धिका लागि आगामी सरकारले पूरापूरा सहयोग गर्ने बताएपछि म्याग्दीमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।

अधिकांश समय म्याग्दी जिल्लाको सम्भावना र यस जिल्लाको समृद्धिका बारेमा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले यहाँका प्राकृतिक श्रोतहरुको सहीरुपमा सदुपयोग गर्नु जरुरी रहेको बताए। कालीगण्डकी करिडोर,कोरला र नेचुङनाका र पूर्व पश्चिम रेलमार्ग जस्ता नेपालको विकासका लागि दीर्घकालीन महत्वका योजनाहरुसंगै म्याग्दीको समृद्धिका विषयहरुलाई समेत पूर्वप्रधानमन्त्री दाहालले निकै महत्वका साथ अभिव्यक्त गरेपछि म्याग्देलीहरु खुसी भएका थिए ।

वास्तवमा म्याग्दीको समृद्धिका आधारहरु राज्यको नीति,योजना र विकाससंग सम्वन्धित भएपनि समृद्धिको जग भने रेमिट्यान्सको सही सदुपयोग र यहाँ रहेका प्राकृतिक स्रोतहरुको प्रयोग नै भएको पाइएको छ ।
मन्त्री र राजनीतिक दलका नेतादेखि लिएर कार्यकर्ता र जनतासम्म सबैले आर्थिक समृद्धिको कुरा गरिरहेको बेला प्रदेश नं ४ मा पर्ने म्याग्दी जिल्लाको समृद्धि वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रेमिट्यान्स र जिल्लामा रहेका प्राकृतिक श्रोतहरुको सदुपयोगमार्फत सम्भव रहेको सरोकारवालाहरुले बताएका छन् ।

बैदेशिक रोजागर,जलविद्युत, पर्यटन, जडिबुटी,खनिज,पशुपालन र कृषि यी सातवटा श्रोतहरुलाई राम्रोसंग सदुपयोग गर्नसक्ने हो भने जिल्लाको कायापलट हुनसक्ने प्रशस्त आधारहरु रहेको म्याग्दीका राजनीतिकदलका नेताहरु र उद्योगी व्यवसायीहरुले बताएका हुन् ।

वार्षिक करिव ४ अर्वको हाराहारीमा रेमिट्यान्स भित्रिने म्याग्दीमा त्यो पैसालाई यहाँ रहेका प्राकृतिक श्रोतहरुको उपयोग गर्ने उद्यममा लगानी गर्ने हो भने १० वर्षमा नै म्याग्दी सबैकुराबाट समृद्ध बन्नसक्ने उनीहरुको भनाइरहेको छ । अहिलेसम्म बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स जिल्ला बाहिर घर घडेरी जोड्ने र जिल्ला भित्र अनुत्पादक क्षेत्रमा नै खर्चहुने गरेको छ ।

‘करिब ५ वर्षसम्म म्याग्देली युवाहरुले विदेशमा कमाएर पठाएको पैसालाई अन्यत्र लगानी नगरी जिल्ला भित्रका प्राकृतिक श्रोतहरुको ९पर्यटनका पूर्वाधार,जलविद्युत,खानी संचालन,पशुपालन,कृषि र जडिबुटी० क्षेत्रमा लगानी गरी त्यसबाट व्यवसायिक लाभ लिन सक्ने वातावरण सरकारले बनाउन सक्यो भने १० वर्षमा म्याग्दी समृद्ध जिल्ला बन्छ’ म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले भने।
समृद्ध र उज्ज्यालो म्याग्दीको भविष्य यहाँ रहेका जलविद्युत आयोजनाहरुको भविष्यसंग जोडिएको छ । ‘कालीगण्डकी,म्याग्दी,रघुगंगाजस्ता नदीहरुबाट म्याग्दीमा २२ सय मेगावाट जलविद्युत उत्पादन गर्न सकिने भएपनि राज्यको नीतिगत व्यवस्था झन्झिटिलो हुनुका साथै लगानीमैत्री वातावरण वन्न नसक्दा समस्या उत्पन्न भएको म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्यले बताए।

२२ सय मेगावाट विद्युत उत्पादनको श्रोत रहेको म्याग्दीका खोला तथा नदीहरुबाट अहिलेसम्म जम्मा २ मेगावाट विद्युत मात्र उत्पादन गर्न सकिएको छ । यद्यपि ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको चरणमा छ भने ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना पनि अन्तिम चरणमा पुगेको छ ।

म्याग्दीको विकास र समृद्धिको ढोका मानिएको उत्तर—दक्षिणजोड्ने कालीगण्डकी करिडोर निर्माणले तिब्रता पाएसंगै म्याग्दीमा उज्ज्यालो भविष्यको आशा गर्नेहरु बढेर गएका छन् । भारतसंग सीमाना जोडिएको सुनौलीदेखि हिमाली जिल्ला मुस्ताङ हुँदै तिब्बती नाका कोरला जोड्ने कालिगण्डकी करिडोरको निर्माणसंगै प्राचिन समयमा भारत र भोट (तिब्बत)को प्रमुख व्यापारिक नाका मानिएको बेनीबजारको भविष्य पुनः चम्किलो बन्नसक्ने आशामा स्थानीय व्यापारी,व्यवसायीहरु रहेका छन् ।