Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

घुम्न जाऔं है, र्‍याफ्टिङमा कालीगण्डकी

NIC Bank, Long AD

January 26, 2018

माघ महिनाको चिसो मौसम। त्यसमा पनि कालिगण्डकीको चिसो पानीलाई चुनौति दिँदै कालिगण्डकीमा बग्नु (र्‍याफ्टिङ) पक्कै सहज होइन। तर पनि यही चिसो मौसममा कालिगण्डकीको चिसो पानीमा र्‍याफ्टिङ गर्नुको मज्जा भने बेग्लै छ।

आज भन्दा लगभग १०-१२ वर्ष पहिले संयोगले गाउँबाट गलेश्वर आउँदा गोराहरूले कालिगण्डकीमा जलयात्रा (र्‍याफ्टिङ) गरेको देखेको थिएँ। त्यही दिनबाट हो, कालिगण्डकीमा बग्ने रहर पलाएको। म्याग्दी महोत्सवमा बाहेक अन्य अवस्थामा जलयात्रा गर्ने कुनै सम्भावना थिएन। तर म्याग्दी महोत्सवमा पनि कालिगण्डकीमा जलयात्रा गर्ने मेसोमेलो मिलेको थिएन। मनको रहर मनमै थियो।

बिहान १० बजेतिर पसलमै थिए। म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश दाईले र्‍याफ्टिङ जाने भए ठाउँ खाली भएको बताउनुभयो। बाह्र वर्षदेखिको चाहना पुरा हुने भएपछि नजाने प्रश्नै भएन। महोत्सवका सुरुवाति दिनमा जलयात्रामा मानिसले खासै रुचि नदेखाए पनि उहाँको टिमले यात्रा गरेपछि मानिसको फ्लो बढेको थियो।
बेनीबाट ११ बजे जलयात्रा सुरु गर्ने बताइएको थियो। खाना खाँदै थिए खम थापाले र्‍याफ्टिङ सुरू हुन लाग्यो छिटो आउनुस् नत्र छुट्नु होला भनेपछि आधा खाना खाएर एक जोडा एक्स्ट्रा कपडा प्याक गरेर प्रमोद श्रेष्ठ दाइको फर्निचरमुनि पुगेँ। त्यहाँ पुग्दा पाँचसात जनामात्र देखेँ। मनमनै डर लाग्यो लौ म त छुटेछु क्यारे। अलि पर खम सर र नन्दुलाई देखेपछि भने मन ढुक्क भो।

‘फेमिली रिभर’को परिचय पाएको कालिगण्डकी विदेशी पर्यटकको र्‍याफ्टिङमा पहिलो रोजाईमा समेत पर्छ। अन्य ठाउँको भन्दा केही जोखिम पनि छ। मनको रहर पनि पुरा हुने बेनी–देखि पनि र्‍याफ्टिङको सम्भावना छ है भनेर बाहिर प्रचार पनि हुने त्यो हिसाबले पनि म निकैै उत्साहित थिएँ– र्‍याफ्टिङका लागि। एउटामा आठ जनाको दरले चार वटा डुङ्गामा ३२ जना मात्र लैजाने कुरा भो। लगभग पौने बाह्र बजे सबै मान्छे भेला भए। तर डुङ्गा आएन।
११ बजेबाट अब १० मिनेटमा आउँछ भन्न थालेको डुङ्गा १२ बजेसम्म पनि आएन। त्यसपछि म, खम थापा, नन्दु पाईजा, दुर्गा बुढा मगर अब पनि आएन भने नजाने भनेर घर फर्कने निर्णय गर्यौं। फर्कौं चाहना अधुरै होला भन्न पिर, नफर्कौ बेर भएर अत्यार लागिसक्यो। त्यसपछि डुङ्गा व्यवस्थापनको मान्छेले अब १० मिनेटमा आएन भने जानुहोला भन्यो। त्यसमा पनि १० मिनेट थप्दै जाँदा साढे १२ बजेतिर बल्ल एउटा डुङ्गा आयो। त्यसपछि भने मन शान्त भो जल गाइड ज्ञानुले सबैलाई बोलाएर र्‍याफ्टिङ गर्दा अपनाउनु पर्ने सावधानी, उनले हामीलाई दिने निर्देशन बताउन थाले।

उनले बेनी–मालढुंगाको जलयात्रा धेरै साहसिक भएकोले कमजोर मुटु भएकाहरू यात्रा नगर्न सुझाईरहेका बेला मलाई झन छिटो छिटो जलयात्रा गर्न उत्सुकता बढीरहेको थियो। म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिका सभापति सुनिता केसी म्याडमको नेतृत्वमा १२ जना महिला उद्यमीहरू, उद्योग वाणिज्य संघका कोषाध्यक्ष अमित बानियाँ, सदस्य लक्ष्मण शर्मा, मोति पौडेल लगायत हामीहरू गरी चार वटा डुङ्गामा ३२ जना जाने भनेपनि ३४ जना भयौँ। त्यसपछि सबै बाँडिएर बस्यौँ। हाम्रो डुङ्गामा म, नन्दु पाईजा, दुर्गा मगर, विष्णु रिजाल, उमेश आचार्य, सिर्जना भट्टचन, शारदा हमाल, शिशिर भण्डारी गरी आठजना भयौँ। पछि पुनः लक्ष्मण दाइ थपिएपछि नौ जना भयौँ। खमजी ग्रुपबाट छुट्नु भो। अनि सुरू भयो हाम्रो जलयात्रा– सललल कालिगण्डकी।