Digital Newspaper of Nepal
| Wednesday, 22 August 2018
Subscribe Google+
Smart 4G

सुनसरी प्रहरी प्रमुख एसपी माझीलाई निलम्बन गर्न गृहमा पत्राचार

NIC Bank, Long AD

February 7, 2018

प्रहरी प्रधान कार्यालयले सुनसरी प्रहरी प्रमुख एसपी विद्यानन्द माझीलाई निलम्वन गर्न गृह मन्त्रालयमा पत्राचार गरेको छ।

पुस १६ गते सुनसरीको इटहरी-२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया बालिकामाथि भएको सामुहिक बलात्कार घटनालाई ढाकछोप गरेको भन्दै उनलाई निलम्बनको तयारी गरेको प्रहरीले जनाएको छ।

 

पीडित पक्षको जाहेरी लिन नमानेको र उल्टै अभियुक्तसँग मिलेर पीडितलाई मिलापत्र गराएको घटनाका बारेमा बनेको छानबिन समितिको अनुसन्धान पछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गर्न गृहमा पत्राचार गरेको हो।

एसपी माझीलाई निलम्बनका लागि गृहलाई पत्राचार गरेको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले पुष्टी गरेका छन्। ‘१६ गते भएको घटनाका बारेमा आफन्तले प्रहरीमा उजुरी गरे पनि निष्पक्ष अनुसन्धान भएन भन्ने कुरा बाहिर आयो, त्यसैका आधारमा समिति बनेको थियो, समितिले दिएको प्रतिवेदनमा माझी नेतृत्वको कमजोरी देखिएकोले निलम्बनका लागि पत्राचार गरेका हौ,’ उनले भने।

प्रहरीका अनुसार इटहरी–२० की कक्षा १० मा पढ्ने १४ वर्षीया बालिकालाई अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुस १६ गते राति इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा उनकै प्रेमी जोकम लिम्बु र उनको साथी विराटनगरका मनीष श्रेष्ठले मदिरा खुवाएर सामूहिक बलात्कार गरेका थिए ।

घटनाको भोलिपल्ट पीडित परिवार प्रहरीमा उजुरी  गर्न पुगेको थियो । तर एसपीको निर्देशनमा मुद्दा दर्ता नगराएर कार्यालयभित्रै पीडित र पीडकबीच मिलापत्र गराइएको थियो ।

पक्राउ परेका अभियुक्त लिम्बुको मोबाइलमा बालिकासँगको क्रियाकलापको भिडियो समेत बनाएको भेटिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए ।

नेपाल प्रहरीमा सईभन्दा माथि निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्नुपर्छ।