Digital Newspaper of Nepal
| Friday, 20 April 2018
Subscribe Google+
Smart 4G

घोटिने कृषक, कमाउने बिचौलिया

NIC Bank, Long AD

February 11, 2018


सिन्धुुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारका किसान प्रेमबहादुर तिमल्सिनाले उत्पादन गरेको तरकारी बजार लैजाँदा व्यापारीले खरिद गर्न चासो नै देखाएनन् । तर, दोस्रो व्यक्ति (बिचौलिया) मार्फत पठाएपछि भने त्यही उत्पादन सहजै खरिद गरे । ‘बेर्ना उमार्नेदेखि उत्पादन दिने बेलासम्म घोटिएर दुस्ख गर्‍यो, पसिनाको मूल्य एकछेउ पाइँदैन,’ उनले भने, ‘ बीचमा अरूले लैजाँदा मात्रै बजारका व्यवसायीले खरिद गर्छन् ।’ उनले किसानले सीधै व्यवासायीसम्म पुगेर फलफूल, तरकारी बिक्री गर्न नपाएको गुनासो पोखे । कृषकसँग सामग्री लिँदा व्यवसायीलाई झनै बढी फाइदा हुने गरेको भए पनि उनीहरूले लिन नमान्ने गरेको उनको तीतो अनुभव छ ।

कृषकसँग गाउँमै पुगेर बिचौलियाले कृषिउपज सामग्री खरिद गर्ने गरेका छन् । किसानसँग खरिद गर्न नमान्नेले त्यही उत्पादन बिचौलियासँग भने महँगोमा पनि सहजै उठाउने गरेका छन् ।स्याउले, कार्कीटारलगायत दर्जनौं गाउँबाट उत्पादित सामग्रीको प्रमुख बजार सदरमुकाम चौतारा हो । जिल्लाका सुकुटे, खाडीचौर, बाह्रबिसे, लामोसाँघु र दोलालघाटमा समेत स्याउले, कार्कीटारका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन्छ । ‘हामीले ६० रुपैयाँमा बेचेको काउली उपभोक्ताले एक सय ३५ रुपैयाँसम्म तिर्छन्,’ कुविन्डेका जलप्रसाद ढुंगाना भन्छन्, ‘यस्तो हुँदा सबैभन्दा बढी मार उपभोक्तालाई पर्छ ।’ उनले बिचौलियाको अन्त्य नभएसम्म समस्याको समाधान हुन नसक्ने उनी बताउँछन् ।
‘बिचौलिया र व्यवसायीबीचको सहमतिमा यस्तो हुने गरेको पाइएको छ,’ कार्कीटारका अगुवा कृषक झम्क महतले भने, ‘हामीले सस्तोमा दिँदा पनि व्यवसायीले हाम्रा उत्पादन लिनै मान्दैनन् ।’ उनका अनुसार किसानले बेचेको भाउभन्दा १ सय २० प्रतिशत बढीमा खुद्रा बिक्री हुने गरेको छ । किसानको पसिना बिचौलियाको कमाउ धन्दा भएकोमा उनी आक्रोशित छन् ।

‘यस्तो गर्दा बिचौलियाले पनि कमाउने र व्यवसायीसँग राम्रो सम्बन्ध हँुदो रहेछ,’ महतले भने, ‘कुनै बेला तरकारीको अभाव हुँदा उत्पादन नल्याइदिने कारणले पनि व्यवसाय बिचौलियासँग मिल्छन् ।’ गाउँमा तरकारी खेती गरी बसेका किसानसँग ढुवानी गर्ने साधन हँुदैन । मौसमअनुसार तरकारी हुने बेलामा बिचौलिया ढुवानी साधनसहित गाउँ आउने गरेका छन् । उनीहरूलाई किसानले उत्पादन गरेकोसामग्री नदिँदा अर्को स्थानमा बिक्री नहुने भएकाले बिचौलियालाई नै दिनुपर्ने बाध्य भएको किसानहरू बताउँछन् । महत भने, ‘किसान आफैं सिजनमा व्यस्त हुन्छन्, बजार डुल्ने फुर्सदनहुँदा पनि बिचौलियाले प्रश्रय पाइरहेका छन् ।’ कार्कीटार गाउँमा ७० घरधुरी व्यावसायिक तरकारी खेती गर्छन् ।