Digital Newspaper of Nepal
| Tuesday, 19 February 2019

प्रधानन्यायाधीशको राजीनामा माग्दै न्याय परिषद घेराउ

February 14, 2018


काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ गरेका छन् । नागरिकता र शैक्षिक प्रमाणपत्रलाई लिएर विवादमा परेका पराजुलीले तत्काल राजीनामा दिन माग गर्दै कानुन व्यवसायीहरुले बुधबार पुल्चोकस्थित न्याय परिषदको कार्यालय घेराउ गर्दै एक घण्टा धर्ना दिएका हुन् ।  बुधबार न्यायपरिषदले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतको रिक्त न्यायाधीश सिफारिस गर्न बैठक बस्ने कार्यसूची छ । पराजुलीको अध्यक्षतामा बैठक बस्न नदिन कानुन व्यवसायीहरुले धर्ना दिएका हुन् ।धर्नामा सहभागी अधिवक्ता कपिलदेव ढकालले विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीले न्यायालयको गरिमा धान्न नसक्ने भन्दै उनको अध्यक्षतामा कुनै पनि निर्णय हुन नदिन विरोध प्रदर्शनमा उत्रनु परेको बताए ।अर्का अधिवक्ता युवराज बन्जाडेले न्यायालयको गरिमामाथि नै आँच आउने भएकाले पराजुलीले राजीनामा दिनुपर्ने बताए । साथै कामचलाउ अवस्थामा पुगेको सरकारलाई न्यायाधीश सिफारिस गर्ने अधिकार नरहेको दावी पनि उनीहरुले गरेका छन् । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशमाथि लागेका आरोपको संस्थागत खण्डन नगरेसम्म कुनै पनि निर्णय नगर्न पनि पराजुलीको ध्यानाकर्षण गराएका छन् ।