Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

ओभर ड्राफ्टमा ३३ प्रतिशतसम्म ऋण

NIC Bank, Long AD

February 21, 2018


काठमाडौँ । केन्द्रीय बैंकको निर्देशन विपरीत केही बैंकले ओभरड्राफ्ट ९अधिविकर्ष० मार्फत ठूलो परिमाणमा ऋण प्रवाह गरेको देखिएको छ ।  राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कुल ऋणको करिब ३३ प्रतिशतसम्म कर्जा प्रवाह गरेका छन् । ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको ऋणको औचित्य पुष्टि गर्न गाह्रो हुने, गलत प्रयोजनका लागि प्रयोग भएका हुन सक्ने लगायतका कारणले राष्ट्र बैंकका अधिकारीले केही वर्षदेखि मौखिक रूपमा त्यस्तो ऋण घटाउन भन्दै आएका थिए ।

करिब दर्जन बैंकहरूको यो शीर्षकमा कुल लगानीको २५ देखि ३३ प्रतिशत कर्जा लगानी गरेको फेला परेको छ । निर्देशन अटेर गरेको फेला परेपछि राष्ट्र बैंकले ओभरड्राफ्टलाई १५ प्रतिशतमा सीमित गर्न औपचारिक निर्देशन दिएकोछ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गत साता राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा कडाइ गरेको हो । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको १५ प्रतिशतभन्दा बढी ओभरड्राफ्ट कर्जा दिन पाउने छैनन् । बैंकहरूले ०७५ पुस मसान्तभित्र ओभरड्राफ्ट कर्जालाई कुल कर्जाको बढीमा १५ प्रतिशतमा झार्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसअघि बैंकहरूले मनपरी ढंगले ओभरड्राफ्टमा ऋण दिने गरेको र त्यो रकम घरजग्गालगायत अनुत्पादक क्षेत्रमा प्रवाह भएको भेटिएपछि राष्ट्र बैंकले कडाइ गरेको हो ।

बैंकहरूले ओभरड्राफ्ट शीर्षकमा प्रवाह गरेको ऋण ठीक र उत्पादनमूलक क्षेत्रमा सदुपयोग होस् भन्ने उद्देश्यले नियमन बढाइएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । ‘ओभरड्राफ्टमा गएको अधिकांश कर्जा डम्पिङजस्तै हो, त्यसको प्रयोजन खुल्न गाह्रो हुन्छ,’ उनले भने, ‘यसकारण हामीलाई पनि नियमन गर्न अप्ठयारो भएको थियो ।’ ओभरड्राफ्ट अरू प्रयोजनका लागि प्रयोग नहोस् सही ठाउँमा लगानी होस् भन्ने उद्देश्य राष्ट्र बैंकको रहेको उनले बताए । ‘अल्पकालीन प्रकृतिको यस्तो कर्जा बढ्दै जानु अर्थतन्त्रका लागि फाइदाजनक हुँदैन,’ उनले भने, ‘यसकारण त्यस्तो कर्जामा नियमन बढाइएको हो ।’
राष्ट्र बैंककै एक तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनासम्म कुल कर्जाको करिब ३० देखि ४० प्रतिशत कर्जा घरजग्गामा गएको छ । यसरी घरजग्गामा गएको मध्ये अधिकांश कर्जा ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको जानकारी आफूहरूलाई प्राप्त भएको राष्ट्र बैंकका उच्च अधिकारीहरूले बताउँदै आएका छन् । ‘बैंकहरूमा तरलता अभाव भएको समयमा ओभरड्राफ्टमार्फत घरजग्गा, सेयर बजारलगायत क्षेत्रमा ठूलो कर्जा जान नदिनु राष्ट्र बैंकको उद्देश्य हो,’ ती अधिकारीले भने । यस्तो कर्जा हरेक वर्ष नवीकरण हुने भएकाले खराब पनि नदेखिने भएकाले बैंकहरूलाई चलखेल गर्ने सजिलो माध्यम भएको ती अधिकारीले बताए ।

बैंकहरूले व्यक्तिगत ओभरड्राफ्टमा कडाइ गरे पनि संस्थागत ९कर्पोरेट० कर्जामा सीमा तोक्न नहुने बैंकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले बताए ।‘अपवादबाहेक सबै बैंकहरूले प्रवाह गरेको ओभरड्राफ्ट कर्जा सही प्रयोजनमा लगानी भएको छ,’ उनले भने, ‘राष्ट्र बैंकले सीमा लगाउँदैमा बैंकहरूलाई असर पर्दैन ।’ तर, राष्ट्र बैंकको निर्देशन कलकारखाना, उद्योग व्यवसायमा ‘वर्किङ क्यापिटल’ का लागि प्रवाह भएको ओभरड्राफ्टमा पनि सीमा लागेमा बैंकहरूमा ठूलो समस्या ल्याउने उनको भनाइ छ । ‘त्यसो हो भने तहसनहस हुन्छ,’ भण्डारीले भने, ‘यसकारण राष्ट्र बैंकको पछिल्लो निर्देशन व्यक्तिगत ओभरड्राफ्टका लागि मात्र हो भन्ने हाम्रो बुझाइ छ ।’

राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुससम्म बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्टमा १७।८ प्रतिशत कर्जा प्रभाव गरेका छन् । गत असारमा यस्तो कर्जा १८ प्रतिशत थियो । औसतमा वाणिज्य बैंकहरूको ओभरड्राफ्ट कर्जा थोरै देखिए पनि केही बैंकहरूले कुल कर्जाको धेरै प्रतिशत यो क्षेत्रमा प्रवाह गरेको ती बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा देखिन्छ । गत पुससम्म केही बैंकहरूले कुल लगानीको ३३ प्रतिशतसम्म कर्जा ओभरड्राफ्टमा प्रवाह गरेका छन् । जसमध्ये करिब दर्जन बैंकको यस्तो कर्जा कुल लगानीको २५ प्रतिशतभन्दा बढी छ । तीमध्ये ३ वटा बैंकको कर्जा ३० प्रतिशतभन्दा बढी देखिन्छ । बाँकी बैंकहरूको ओभरड्राफ्ट कर्जा अधिकतम १५ प्रतिशतभित्रै छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार ०७५ पुससम्म बैंक तथा वित्तीय संस्थाहरूले ओभरड्राफ्टमा प्रवाह भएको कर्जा कुल लगानीको बढीमा १५ प्रतिशतमा झार्नुपर्छ । यो निर्देशनले करिब दर्जन बैंकहरूलाई ओभरड्राफ्ट कर्जा घटाउन अप्ठयारो हुने विज्ञहरू बताउँछन् । ‘राष्ट्र बैंकको निर्देशनले २र४ बैंकलाई धेरै समस्या हुन सक्छ,’ एक विज्ञले भने ।

राष्ट्र बैंकले ओभरड्राफ्टमा सीमा लगाए पनि बैंकहरूलाई खासै समस्या नहुने पूर्वबैंकर अनील ज्ञवालीले बताए । ‘अधिकांश बैंकहरूको ओभरड्राफ्ट सही प्रयोजनमा खर्च भएको छ, बैंकहरूले नियम कानुनभित्र रहेर यस्तो कर्जा प्रवाह गरेका छन्,’ उनले भने । राष्ट्र बैंकले आशंका गरे झैं ओभरड्राफ्ट कर्जा अन्यत्र नगएको ज्ञवालीको भनाइ छ । ‘खै राष्ट्र बैंकले केका आधारमा अन्यत्र गयो भनिरहेको छ,’ उनले भने, ‘मेरो विचारमा अपवादबाहेक सबै ओभरड्राफ्ट सही प्रयोजनमा लगानी भएको छ ।’ श्रोत कान्तिपुर