Digital Newspaper of Nepal
| Tuesday, 22 May 2018
Subscribe Google+
Smart 4G

नेपाल भित्रिने चिनियाँ पर्यटकहरूको सङ्ख्यामा वृद्धि

NIC Bank, Long AD

February 25, 2018


रसुवा । रसुवागढी नाका हुँदै नेपाल भित्रिने चिनियाँ पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१७ मा रसुवागढी नाका हुँदै १७ हजार ६ सय २० जना चिनियाँ पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०१६ मा ४ हजार ९ सय ६१ चिनियाँ पर्यटक रसुवागढी नाका हुँदै नेपाल भित्रिएको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मनोजकुमार पोखरेलले बताए ।उनले भने रसुवागढी नाका हुँदै नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्यामा क्रमिक रूपमा वृद्धि हुँदै गएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चिनियाँ पर्यटकले नेपाल प्रवेशका लागि रसुवागढी नाकाको प्रयोग गर्दै आएका छन् ।अध्यागमन कार्यालयका अनुसार जनवरीमा ३ सय ४२, फेब्रुअरीमा ५ सय १५, मार्चमा ७ सय ८४, अप्रिलमा १ हजार १ सय ५१, मेमा २ हजार ९ सय ५३, जुनमा २ हजार १ सय ७२ चिनियाँ नेपाल आएका छन् । कार्यालयको तथ्यांकअनुसार जुलाईमा २ हजार ४ सय ६३, अगस्टमा २ हजार २ सय ८५, सेप्टेम्बरमा १ हजार ९ सय ४४, अक्टोबरमा १ हजार ८ सय ३४, नोभेम्बरमा १ हजार ६३ र डिसेम्बरमा ७ सय १४ जना चिनियाँ पर्यटक रसुवागढी नाका हुँदै नेपाल आएका छन् ।

चीन सरकारले २०७४ भदै १४ गते रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका नागरिक पनि यो नाका हुँदै नेपाल आउन थालेका छन् । अन्तर्राष्ट्रिय नाका घोषणा भएको ६ महिनामा ८२ जना तेस्रो मुलुकका नागरिक नेपाल भित्रिएका छन् । रसुवागढी नाका हुँदै स्विडेनका २३, अमेरिकाका १८, डेनमार्कका १७, अस्ट्रेलियाका ८, स्विट्जरल्यान्डका ६, जर्मनका ५, हल्यान्डका २, इन्डियन २, क्यानडा र रसियाबाट १/१ जना नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालयले जनाएको छ । नेपाल घुम्नका लागि चिनियाँ पर्यटकले १ सय ५० दिनसम्मको फ्री भिसा पाउँदै आएका छन् । नेपाल घुम्न आउने पर्यटक धेरैजसोले करिब ३० दिनको भिसा लिने गरेका छन् । तर चिनियाँ पर्यटकको नेपाल बसाइ सरदर १४ दिन मात्र रहेको छ । जति दिन नेपाल बस्ने हो उति नै दिनको फ्री भिसा पर्यटकलाई दिनुपर्ने जानकारहरू बताउँछन् ।

पर्यटकलाई १ सय ५० दिनसम्मको फ्री भिसा दिंदा दुरुपयोग हुन सक्ने सम्भावना रहेको जानाकारहरूको भनाइ रहेको छ । अधिकांश चिनियाँ पर्यटकहरूले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन् । करिब १० प्रतिशत जति पर्यटकले रसुवागढी अध्यागमनबाट भिसा लिने गरेको पोखरेलको भनाइ छ । नेपाल आउने चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्दा धेरै ठाउँमा हुने चेकजाँचले यात्रा गर्न समस्या भएको चिनियाँ पर्यटकले गुनासो गरेका छन् । रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरिए पनि नेपालतर्फ अझै पनि भौतिक पूर्वाधारको विकास हुन सकेको छैन ।