Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

भारतमा ‘मःम संस्कृति’ फैलाउँदै नेपाली

NIC Bank, Long AD

भारतका ९ प्रदेशमा वाउ मस्मका १ सय ६० आउटलेट

March 15, 2018


कोलकाता । ‘नेपालको लोकप्रिय खाजा मस्मलाई ब्रान्डका रूपमा स्थापित गर्न सके गज्जब हुन्छ ।’ यही सोचले भारतको कोलकातामा व्यापार थालेका नेपाली युवा विनोद हुमागाईं अहिले करोडपति बनेका छन् । ‘वाउ मस्म’ नामको उनको ब्रान्ड भारतमै सर्वाधिक रुचाइएको र विश्वसनीय ब्रान्ड बनेको छ । ३२ वर्षीय हुमागाईंले काभ्रे धुलिखेलको पुख्र्यौली थलोबाट अध्ययन गर्नका लागि भारत छिरेका हुन् । केएफसी, म्याकडोनल्ड र पिज्जा हटजस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई कोलकातामा ‘वाउ मस्म’ ले कडा चुनौती दिइरहेको छ । कोलकातामा मात्रै मस्म बिक्रीका लागि उनका ७४ वटा आउटलेट छन् । भारतकै उत्तरप्रदेश, नयाँदिल्ली, केरला, कर्नाटक, उडिसालगायत ९ प्रदेशमा वाउ मस्मका १ सय ६० आउटलेट छन् ।

भ्यालेन्टाइन डेमा कोलकाताका युवा–युवतीलाई चकलेट मस्मको बिल्कुलै नौलो स्वादसहितको प्रणय दिवस विशेष व्यञ्जन बनाएका थिए । मस्म स्टोरमा भेज र चिकेन मात्र नभई मसरुम र बर्गर मस्मसहित १ दर्जनभन्दा बढी परिकारका मस्म उपलब्ध हुन्छ । ‘ग्राहकले जुन फ्लेभरको मस्मको स्वाद खोज्छन्, हामी त्यही स्वाद पस्कन तत्पर हुन्छौं,’ विनोदले भने, ‘कमर्सको विद्यार्थी भएकाले व्यवसायमा नयाँ प्रयोग गर्न कहिल्यै डराउँदिनँ, वाउ मस्मको सफलताको रहस्य यही हो ।’  कोलकाता महानगरको मुख्य चोक र चौराहामा विनोदको ‘वाउ मस्म’ का आउटलेट छ । कार चढेर उनी दैनिक आफ्ना अधिकांश आउटलेटहरूको अनुगमनमा निस्कन्छन् ।

२००८ मा कोलकाताकै सेन्ट जेभियर्स कलेजमा म्यानेजमेन्टमा स्नातक गरेपछि केही नयाँ गर्ने सोचले उनलाई मस्म व्यापारमा सरिक भए । सहपाठी सागर दरियानीलाई उनले नेपालमा लोकप्रिय रहेको खाजा मस्मको रेस्टुरेन्ट खोल्ने योजना सुनाए । सागरले पनि उनलाई साथ दिए । दुवैले ३० हजार रुपैयाँ लगानी गरेर कोलकाताकै बालट्रोनीमा एउटा सानो सटर भाडामा लिएर मस्म पसल थापे ।

खानाका सौखिन कोलकाताका बंगाली समुदायले मस्मलाई रुचाए । ग्राहकको थामी नसक्नु भीड हुन थालेपछि विनोदले आउटलेट विस्तार गर्दै गए । अहिले उनी २ सय ३० करोडको मार्केट भ्यालु भएको मस्म ब्रान्डका मालिक बनेका छन् । कोलकातामा मात्रै अहिले उनका आउटलेटबाट दैनिक २ लाख प्लेट मस्म बिक्री हुन्छ । झन्डै २ हजारलाई रोजगारी दिएका उनले सुरुमा काममा नेपालीलाई नै प्राथमिकता दिएका थिए । पछि नेपाली जनशक्तिले मात्रै धान्न नसकेपछि बंगालीलाई पनि रोजगारी दिएका छन् ।

भारतको थुप्रै राज्यका प्रमुख सहरहरूमा उनी आफ्नो आउटलेट विस्तारको योजनामा छन् । बंगलादेशको राजधानी ढाकाबाट पनि स्थानीय व्यवसायीहरूले त्यहाँ उनको वाउ मस्मको आउटलेट खोल्ने साझेदारीसहितको प्रस्ताव गरेका छन् । ३ भाइमा जेठा विनोदका माहिला भाइ दिनेशले नयाँदिल्लीमा बसेर वाउ मस्मको व्यापार सम्हाल्दै छन् । कान्छा भाइ लालकृष्ण कोलकातामै एक स्थापित बहुराष्ट्रिय कम्पनीमा मार्केटिङ म्यानेजर छन् । त्यहाँ अनुभव लिएपछि उनी पनि मस्मकै व्यापार सम्हाल्न आउनेछन् ।

अहिले भारतका सबै सहरमा कम्तीमा एक–एक वटा आउटलेट स्टोर स्थापना गर्ने महात्त्वाकांक्षी योजना उनको छ । ‘वाउ मस्मलाई भारतको प्रत्येक कुनामा पुर्‍याउने योजनामा लागेको छु,’ उनले भने, ‘र, यो सम्भव पनि छ ।’ उनको व्यावसायिक सफलताको कदर गर्दै भारत सरकारले गत वर्ष उनलाई ५ लाख रुपैयाँ राशिसहित ‘यङ इन्टरप्रेनर’ अवार्ड दिएको थियो ।

भारतका गृहमन्त्री राजनाथ सिंहले उनलाई त्यो पुरस्कार दिए । छोराको व्यावसायिक सफलताबाट उनका बुवा नारायण हुमागाईं पनि खुसी छन् । ‘भारतको कोलकाताजस्तो महानगरमा एउटा नेपालीको छोराले यत्तिको ठूलो सफलता हात पार्नु मेरा लागि मात्र होइन यहाँ बसेका ३ लाख प्रवासी नेपालीकै लागि गर्वको कुरो हो,’ नारायण भन्छन्, ‘मैले दुस्खजिलो गरी छोराहरूलाई शिक्षादीक्षा दिएँ, उनीहरूको सफलता देखेर आत्मसन्तुष्टि मिल्छ ।’