Digital Newspaper of Nepal
| Wednesday, 26 September 2018
Subscribe Google+
Smart 4G

वैदेशिक रोजगारीले गाउँ भयो रित्तो, कोही नभएपछि महिला मलामी

NIC Bank, Long AD

April 1, 2018

म्याग्दी । पीडापूर्ण दृश्य म्याग्दीको मालिका गाउँपालिका– २ रुमको बेलीगाउँको । महिलाहरु शवको अन्तिम दाहासंस्कार गर्न जाँदा समेत काँध र हातमा दाउरा लिएर गइरहेको दर्दनाक दृश्य देखियो ।

अन्तिम संस्कारका लागि मलामी गइरहँदा बेलिगाउँको रोदन सुन्ने कोही थिएन । बुढाबुढी दाउराका भारी र काठका मुडा बोकेर पछिपछि । यो दर्दनाक दृष्य संगै सारा गाउँको रोधनले कोकोहोलो नै मच्चिएको थियो ।
बारीका कान्ला गोरेटो बाटो हुँदै मलामीको लाम ओरालो झर्दै गर्दाको दृष्य निकै हृदयविदारक र कारुणिक देखिन्थ्यो । समूहमा युवा कमै थिए । मात्रै उमेर ढल्कँदै गरेका बुढाबुढी, र महिलाहरु देखिन्थे । सबैका आँखामा आँसु थियो मनहरु भक्कानिएका थिए । यो गाउँभित्रको असह्ैय पीडा बयान गरिसाध्य थिएन ।
मलेसियाबाट आएको कान्छो छोराको शवको अन्त्यष्टि हुँदै थियो । र सारा गाउँ शोकाकुल बनेको थियो ।
बैदेशिक रोजगारीका लागि मलेशिया गएका बेलीका धर्मबहादुर रोकाको ड्युटीमै मृत्यु भएपछि अन्तेष्टीमा सहभागि भएका मध्ये सबैभन्दा धेरै महिला तथा बृद्धबृद्धा रहेका थिए । जनजाती र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन हुन थालेको प्रमाणहरु हुन् यी दृश्य । गाउँका प्रायः सवै घरका युवाहरु बैदेशिक रोजगारीका लागि खाडीमुलुक गएका छन् । त्यसैले मलामी जानेपनि कोही छैन गाउँमा ।
मलेशियाबाट आफ्नो कान्छो छोरा धर्मलाल रोकाको शव बाकसमा बोकिएर विहीवार आगनमा आइपुग्दा लीलमति र धनवहादुर दम्पत्ति छोरो कैद बनेको बाकसमा मुड्की बजार्दै आस्थाको उही भगवानलाई नै दुत्कार्दै थिए ।
सामान्यतयाः दुःख पीडामा मानिसले दैब पुकार्छन । तर, पीडा असह्य भएपछि र एकपछि अर्को विपत्तिको चाङ लाग्न थालेपछि भगवानप्रति पनि विश्वास घट्दो रहेछ । मानिस आस्थाको उनै भगवान दुत्कार्न थाल्दो रहेछ ।
धर्मलालको मलेसियामा सुतेको अवस्थामै ज्यान गएको खबरपछि दाई थमवहादुर प्यारो भाईको शव बुझ्न काठमाडौं आएका थिए । विहीवार दाजु थमबहादुरले कान्छो भाइको शव जीपको छतमा राखेर पु¥याउँदा गाउँ नै शोकमा डुबेको थियो । सवैको दुःख हरण गर्ने भनिएका भगवानलाई समेत अन्यायी र पक्षपाती भन्दै निष्ठुरीको संज्ञा दिँदै थिए थमबहादुर ।
धनवहादुर र लीलमति त्यस्ता अभागी बा–आमा रहेछन् । जसले चारछोरा मध्ये तीन छोरालाई विदेशमै गुमाए । वैदेशिक रोजगारीका लागि कतार गएका माइला छोरा भक्तवहादुर त्यतै बिते । घरको आर्थिक अवस्था कमजोर भएकाले माहिलो भाइको मृत्यु लगत्तै जेठा तमवहादुर पनि धन कमाउन मलेशियामा गए । उनी पनि नेपाल फर्किन पाएनन् । सुख दिन्छु भन्दै जेठा र माइला छोराको मृत्युको पीडा बिर्साउन कान्छा पनि मलेसिया हानिए । तर, दुई दाईजस्तै उनी पनि बाकसमा कैद भएर फर्किए । एकै घरका तीन यूवाको विदेशी भूमिमा मृत्यु भएपछि सिंगो बेलीगाउँ शोकमा छ । मृत्युलाई नचिनेका बालबालिकाको आँखासमेत आँसुले भरिएको छ ।
नौजवान तीन छोरालाई पराई भूमिमा गुमाउने बृद्ध रोका दम्पक्तिमाथिको दैवको यो निर्मम बज्रपातले गाउँलाई मर्माहत पा¥यो । अझ लास उठाउने पुरुष नहुँदा गाउँको पीडाले सिमा नाघेको छ । चैतको यो खडेरीमा गाउँका नौ जवान युवाहरुको पलायनले अर्को खडेरी थपेको छ ।
गाउँबाट मलेसियामा पुगेका दुई यूवाको एकै हप्ता ज्यान गएपछि अहिले बेली गाउँ शोकमा डुवेको छ । धर्मबहादुरको अन्त्येष्टी लगत्तै मलेसियाको अस्पतालमा आवश्यक कानुनी प्रक्रिया पुरा गर्नुपर्ने भएर रोकिएको बृद्धिबहादुर परियारको शव आउने तयारी भइरहेको छ । गाउँका सारा युवा खाडीमा हुँदा महिलाहरु मलामी जान विवस छन् । हिन्दु धर्म परम्परा अनुसार दाहसंस्कारमा पुरुष जाने परम्परा र संस्कृति यो गाउँमा तोडिएको छ र मलामी जाँदै गरेका युवाहरु पनि गाउँमा पुरुषहरु कमी भएकै कारण महिलाहरुलाई समेत लगेको बताउँछन् ।


पाखुरामा बल भएकाहरु सारा विदेशमा छन् । सम्पत्ति कमाउने आसमा विदेशीएका यूवाको शरीर रातो बाकसमा आउनेक्रम चलिरहेको छ । निर्मम सत्यभित्रको पीडा र बाध्यताको अन्त्य कहिले हुने होला ? यहाँका स्थानीयहरुको प्रश्न पनि यस्तै यस्तै छ । यो त एउटा गाउँको दुखद सत्य हो तर अहिले नेपालको हरेक गाउँको सत्य यस्तै यस्तै हुन थालेको छ ।