Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

नेपालमा ढुक्क भएर लगानी गर्न भारतको निजी क्षेत्रलाई प्रधानमन्त्री ओलीको आह्वान

NIC Bank, Long AD

April 6, 2018

भारतको राजधानी नयाँ दिल्लीमा रहनुभएका प्रधानमन्त्री ओलीले त्यहाँको निजी क्षेत्रसँगको अन्तरक्रियामा लामो समयपछि राजनीतिक संक्रमण पूरा गरेको नेपाल समृद्धिको यात्रामा रहेको भन्दै त्यसलाई सघाएर उच्च प्रतिफल लिन भारतीय उद्योगी–व्यवसायीलाई आह्वान गर्नुभएको हो ।

नेपालमा लगानीको वातावरण थप सुदृढ बनाउन सरकार तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले जलविद्युत, कृषि, पर्यटन, सूचना प्रविधि क्षेत्रमा लगानी संभावना उच्च रहेको समेत औंल्याउनु भयो । लामो समयपछि बनेको स्थायी सरकारले समृद्धि र विकासलाई उच्च प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री ओलीले सोहीअनुसार नीति, नियम र कार्यविधि बनाउनेमा जोड दिनुभएको थियो ।

दुई ठूला देशको बीचमा रहेको नेपालले बैदेशिक लगानी भित्र्याउने नीति लिएको भन्दै प्रधानमन्त्री ओलीले लगानीको पूर्ण सुरक्षा हुनेमा जोड दिँदै कानूनी र व्यवहारिक रुपमा केही कठिनाई रहेको रहे त्यसबारे पनि छलफल गर्न सकिने स्पष्ट पार्नुभयो ।

आर्थिकरुपमा सम्पन्न भारत र चीनको बीचमा रहेको नेपालले दुवै देशतर्फबाट प्रतिफल पाउनु पर्नेमा जोड दिनुभएका प्रधानमन्त्री ओलीले नेपाल सरकार भारतीय लगानीकर्तासँग मिलेर काम गर्न तयार रहेको पनि बताउनु भयो ।

यसअघि भारतीय उद्योगी–व्यसायीले लगानीका क्षेत्र, सुरक्षा, प्रतिफलको अवस्था र कानूनी र व्यवहारिक पाटोबारे प्रधानमन्त्रीसँग जिज्ञाषा राखेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रतिफलको उच्च संभावना, लगानीको वातावरण र सुरक्षासहित सरकारी नीति खुकुलो रहेको भन्दै ढुक्क भएर नेपालमा लगानी गर्न भारतीको निजी क्षेत्रलाई सुझाव दिएका थिए ।