Digital Newspaper of Nepal
| Saturday, 19 January 2019

साढे ६ सयले लिए हिमाल आरोहणको अनुमति

April 19, 2018


काठमाडौं । चालु बसन्त सिजनमा हिमाल आरोहणका लागि ७६ वटा टिमले अनुमति लिएका छन् । विभिन्न २२ वटा हिमाल आरोहणका लागि ६४९ जनाले आरोहण अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ । यसमध्ये सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या ठूलो छ । यो सिजनमा हिमाल आरोहणका लागि अनुमति लिएका धेरै टिम बेस क्याम्पमा पुगिसकेका छन् । यो सिजनमा ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्न ५५ टोलीबाट ५२८ जनाले अनुमति लिइसकेका छन् । विभागका प्रवक्ता रामप्रसाद सापकोटाअनुसार सगरमाथा आरोहणका लागि ३२ वटा विदेशी टिम तयार छन् । ४ वटा नेपाली टिम पनि अन्तिम तयारीमा छ । आइतबारसम्म विभागबाट सगरमाथा चढ्नका लागि ३१६ विदेशी र २० नेपालीले अनुमति लिएका छन् । सगरमाथापछि ल्होत्से हिमाल चढ्न अनुमति लिनेको संख्या धेरै छ । ल्होत्सेका लागि ८ टिमबाट ८८ जनाले अनुमति पाइसकेका छन् ।

कञ्चनजंघा हिमाल आरोहण गर्न ४ टिमका ४२ जना आरोहीले तयारी गर्दैछन् । अमादब्लम हिमाल आरोहण्का लायि गो सिजमा ४ वटा टिम जाने तय भइएको छ । २८ जना आरोही तयार छन् । मकालु हिमालका लागि ३ टिमबाट २७ जनालाई अनुमति दिइएको छ । धौलागिरिको आरोहण गर्न २ वटा टिमबाट २६ आरोहीले अनुमति लिएका सापकोटाले जानकारी दिए । धम्पुस हिमाल चढ्न १९, मुस्ताङका लागि १२, नुप्त्सेका लागि ११ र मकालु दोस्रो था बरुन्त्सेका लागि ९र९ जनाले अनुमति पाएको विभागले जनाएको छ ।

रुट मर्मत गर्दै आइसफल डाक्टर

अन्नुपूर्ण, छोपा बमारे र हिमलुङ हिमाल चढ्न अहिलेसम्म एक जनाले मात्रै अनुमति पाएका छन् । अहिले धेरै आरोहीहरु मौसम सफा हुने समयमको प्रतिक्षामा बेस क्याम्पमा छन् । अप्रिलभन्दा मे महिनालाई आरोहणका लागि उपयुक्त महिना मानिन्छ । अहिले हजारभन्दा बढी शेर्पाहरु आरोहीका साथमा हिमाल चढ्न तयारी अवस्थामा छन् । अहिले आइसफल डाक्टरहरुले सगरमाथा चढ्ने रुट मर्मत गरिरहेको प्रवक्ता सापकोटाले बताए । हिमाल चढ्न र ओर्लन आरोहीहरुले करिब ६ हप्ता लगाउने गरेका छन् ।

२२ औं पटक सगरमाथा आरोहणको तयारी

नेपाली कीर्तिमानी आरोही कामी रिता शेर्पा यसै सिजनमा २२ औं पटक सगरमाथा आरोहणको तयारीमा छन् ।उता अस्ट्रेलियन आरोही स्टिभ प्लेन सबभन्दा छोटो अवधिभित्र विश्वका सात महादेशका सबभन्दा अग्ला चुचुरा चढेर कीर्तिमान बनाउने अभियानमा जुटेका छन् । उनी हाल सगरमाथा आधार शिविर पुगिसकेका छन् ।आरोहणको तयारीमा संलग्न शेर्पाहरुका अनुसार वैशाखको तेस्रो हप्तादेखि सगरमाथा क्षेत्रको मौसम सफा हुनेछ । त्यसपछिको करिब एक हप्तामा पहिलो टोली सगरमाथा शिखर पुग्नेछ ।