Digital Newspaper of Nepal
| Tuesday, 21 August 2018
Subscribe Google+
Smart 4G

नेपाल र बंगलादेश एउटै समूहमा

NIC Bank, Long AD

April 19, 2018


काठमाडौँ । नेपाल र आयोजक बंगलादेशले साफ फुटबल च्याम्पियनसिप २०१८ मा समूह चरणमै प्रतिस्पर्धा गर्ने भएका छन् । ढाकामा बुधबार भएको ‘ड्र’ मा यी दुई एउटै समूहमा परेका हुन् ।
नेपाल र बंगलादेशसँगै समूह ‘ए’ मा भुटान र पाकिस्तान पनि छन् । डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्स र श्रीलंकासँग समूह ‘बी’ मा प्रतिस्पर्धा गर्नेछ । सन् २०१३ को च्याम्पियन तथा पछिल्लो संस्करण उपविजेता अफगानिस्तान भने यसै संस्करणदेखि साफ साफबाट बाहिरियो । यसअघि नै मध्य एसियाली क्षेत्रमा सदस्यता सारे पनि २०१५ मा साफ च्याम्पियनसिप खेलेको थियो । साफ फुटबल २०१८ सेप्टेम्बर ४–१५ मा ढाकामा हुनेछ । नेपालले पहिलो खेल ४ सेप्टेम्बरमा पाकिस्तानविरुद्ध खेल्नेछ । त्यसपछि ६ सेप्टेम्बरको नेपालको खेल भुटानविरुद्ध हुनेछ । समूहको अन्तिम खेलमा नेपालले ८ सेप्टेम्बरमा आयोजक बंगलादेशको सामना गर्नेछ ।

सन् २०१५ डिसेम्बर–२०१६ जनवरीमा भारतको त्रिवेन्द्रममा भएको पछिल्लो साफमा नेपाल र बंगलादेश समूह चरणबाटै बाहिरिएका थिए । तत्कालीन कप्तान सागर थापासहित टिमका मुख्य खेलाडीहरू ‘म्याच फिक्सिङ’ मा परेपछि जुनियर खेलाडीको बाहुल्य रहेको नेपाली टोली १–० ले श्रीलंका र ४–० ले भारतसँग हारेपछि समूह चरणबाटै घर फर्केको थियो । अन्तिम खेलमा भुटानलाई पराजित गरेपछि माल्दिभ्स र अफगानिस्तानसँग हारेकाले बंगलादेशको चुनौती पनि समूहमै सकिएको थियो ।

पाँच वर्षअघि काठमाडौंमा सम्पन्न साफ २०१३ मा नेपाल र बंगलादेश एउटै समूहमा परेका थिए । त्यस बेला नेपालले अनिल गुरुङ र भरत खवासको गोलसँगै दशरथ रंगशालामा २–० को जित निकालेको थियो । पहिलोपल्ट नेपाल समूह विजेता पनि भएको थियो तर सेमिफाइनल ‘जिंक’ तोड्न फेरि असफल भएको थियो । पाकिस्तान पनि साफ २०१३ मा नेपाल र बंगलादेशकै समूहमा थियो । त्यस बेलाको भेटमा नेपाल र पाकिस्तानले १–१ को नतिजा निकाल्दै अंक बाँडेको थियो । भुटानविरुद्ध साफमा नेपालले नियमित सफलता हात पार्दै आएको छ ।

नेपाली टोली साफमा कहिल्यै फाइनल पुगेको छैन । सन् १९९९ (गोवा), २०११ (दिल्ली) र २०१३ (काठमाडौं) मा सेमिफाइनल पुग्नु नै साफमा नेपालको सबैभन्दा राम्रो नतिजा हो । तेस्रोपल्ट साफ च्याम्पियनसिप आयोजना गर्न लागेको बंगलादेश २००३ मा च्याम्पियन भएको थियो । उसले २००५ मा पनि फाइनल खेलेको थियो ।

सन् १९९३ र १९९५ मा सार्क गोल्डकपका रूपमा दक्षिण एसियाली टिमहरूले प्रतिस्पर्धा गरेका थिए । त्यसपछि सन् १९९७ मा काठमाडौं संस्करणसँगै साफ च्याम्पियनसिपको औपचारिक सुरुआत भएको थियो । त्यसयता भारत सर्वधिक ६ पटक च्याम्पियन भएको छ भने माल्दिभ्स, बंगलादेश र अफगानिस्तानले पनि एक–एकपल्ट ट्रफी चुमेका छन् ।

‘लक्ष्य फाइनल पुग्ने’

हामी कम्तीमा फाइनल यात्रा तय गर्ने लक्ष्यसाथ अघि बढ्नेछौं । पाकिस्तानविरुद्धको पहिलो खेल निकै महत्वपूर्ण हुनेछ । हाम्रो समूहका सबै टोली राम्रा छन् । आयोजक बंगलादेशलाई घरेलु मैदानको फाइदा छ । भुटानको तुलनामा हाम्रो टोली राम्रो भए पनि खेल सहज हुने छैन । हामीले प्रतियोगितामा अपेक्षित नतिजा ल्याउन राम्रो तयारी गर्नु आवश्यक छ । राष्ट्रिय टोलीसँगै एसियाली खेलकुदमा खेल्ने यू–२३ उमेर समूहको समन्वय गर्नुपर्ने देखिन्छ । प्रतियोगिता अगाडि कम्तीमा तीन मैत्रीपूर्ण खेल खेल्नुपर्छ । एन्फा नेतृत्वको छिनोफानो भएलगत्तै योजनाबद्ध ढंगले अगाडि बढ्नेछौं ।– प्रशिक्षक ग्योतोकु कोजी

साफ च्याम्पियनसिपमा नेपालको खेल ९समूह “ए”०
नेपालविरुद्ध पाकिस्तान – ४ सेप्टेम्बर ९भदौ १९०
नेपालविरुद्ध भुटान – ६ सेप्टेम्बर ९भदौ २१०
नेपालविरुद्ध बंगलादेश – ८ सेप्टेम्बर ९भदौ २३०
सेमिफाइनल – १२ सेप्टेम्बर ९भदौ २७०
फाइनल – १५ सेप्टेम्बर ९भदौ ३००