Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

१४ घण्टापछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु, २४ सै घण्टा खुल्ने

NIC Bank, Long AD

April 20, 2018

त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलबाट  नियमित उडान सुरु भएको छ। बिहिबार बेलुका ९ बजेर ४५ मिनेटमा एयर मालिन्दोको विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेपछि ‘रनवे’ बन्द गरिएको थियो।

बिहानबाटै आन्तरिक तर्फको केही उडान सुचारु गरिएको थियो। गएराति विमानस्थल बन्द भएयता अन्तराष्ट्रिय तथा आन्तरिक केही उडान हुन सकेका थिएनन्। त्रिभुवन विमानस्थलको जाँच पछि उडान सुरुवात गरिएको प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

विमानस्थलमा नेपाल बाहिर जाने ८ उडानमा गए रातिदेखि होल्डमा थिए। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको ३/३ उडान होल्डमा छन्। त्यस्तै कतार र ओमन एयरका १/१ उडान पनि होल्डमा राखिएका थिए।

ठाकुरका अनुसार नेपाल आएका विमानलाई कलकत्ता डाइभर्ट गरिएको थियो। विमानस्थल सुचारु भएसँगै चाइना साउदर्नको विमानले कोलकत्ताबाट काठमाडौँंका लागि उडान भरिसकेको छ।

मालिन्दो एयरको विमान भने बुद्ध एयरको ह्याङगर नजिक जुलियट भन्ने एरियामा राखिएको छ।

एयर मालिन्दोको जहाज गएराति विमानस्थलको रनवे (धावनमार्ग)बाट चिप्लिएर ४० मिटर पर पुगेको थियो। विमानस्थल प्रशासनले जमिन छोड्नै लागेको जहाजमा ब्रेक लगाउनु परेकाले जहाज अनियन्त्रित भइ चौरमा पुगेको प्रारम्भिक अध्ययनबाट देखिएको जनाएको छ।

विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीले पाइलटले आफूहरूलाई ब्रेक लगाउँदा जहाज चिप्लिएको जानकारी दिएको बताए।

‘ट्याक्सी वे बाट रनवेमा गएर टेकअफ लागि स्पिड लिएको बेला ककपिटको स्क्रिनमा इरर (समस्या) देखिएपछि मैले टेक अफ गर्न चाहिनँ, रोक्न ब्रेक लगाउँदा जहाज अनियन्त्रित भयो,’ पाइलटलाई उदृत गर्दै क्षेत्रीले भने।

यसैबीच त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालन हुने महाप्रवन्धक क्षेत्रीले बताए। विमापनीले चाहेमा त्रिभुवन विमानस्थल चौविसै घन्टा सञ्चालनको अनुमति दिने उनले जानकारी दिए। विमानस्थल १४ घण्टा अवरुद्ध भएको थियो।