Digital Newspaper of Nepal
| Friday, 20 July 2018
Subscribe Google+
Smart 4G

जोगीराम थारूका तीन पुस्तादेखि सगोलमा बस्दै, ४२ जनाको एउटै चुलो

NIC Bank, Long AD

June 20, 2018

भैसाही (बर्दिया) । गुलरिया नगरपालिका १२ भैसाहीका ६० वर्षीय जोगीराम थारू तीन पुस्तादेखि सगोलमा बस्दै आएका छन् । उनको ४२ जनाको परिवार अहिले पनि एउटै भान्सामा खान्छ । सुत्नका लागि तीनवटा घर छन् । बिहान गरेर भान्सामा ३० किलोभन्दा बढी भात पाक्छ । एक छाक खाना पकाउन मात्रै झन्डै ४ घण्टा लाग्छ ।

केटाकेटी बढी भएकाले साँझ सबैलाई एकै ठाउँमा राखेर खाना खाएरनखाएको सोध्नुपर्छ । पाहुनाका लागि छुट्टै भान्सा घरमा खाना पाक्छ । ‘घरपरिवारका थुप्रै इष्टमित्र भएकाले पाहुना आइरहन्छन्,’ जोगीरामले कान्तिपुरसित भने, ‘घरपरिवारका सदस्यले खाने कुरा पाहुनाका लागि पनि पस्किनु उपयुक्त नलागेकाले अलग्गै भान्साको व्यवस्था गरेका हौं ।’

खेतीकिसानी र परिवारको काम बाँडफाँट गरिएको छ । सबै मिलेर काम गर्छन् । ‘हरेक काम सरसल्लाहमा हुने भएकाले परिवारमा कुनै मनमुटाव छैन,’ जोगीरामकी छोरी नीताले भनिन्, ‘खाना पकाउन पालो लगाइएको छ, बुहारीहरूले पनि बराबर सघाउने गर्छन् ।’ महिनावारी हुँदा पनि थारू परिवारमा खाना पकाउन प्रतिबन्ध छैन ।

तर, देउताको पूजास्थलमा भने जान मिल्दैन । घरमूली जोगीराम शाकाहारी भए पनि परिवारमा महिनामा दुई छाक मासु पाक्छ । साहिँला छोरा जगमोहनका अनुसार एक छाकका लागि झन्डै २० किलो मासु चाहिन्छ ।

‘खसीभन्दा सबैजना बंगुर रुचाउँछन्,’ जगमोहनले भने, ‘तर, हाम्रो भान्सामा सबैभन्दा धेरै कुखुराकै मासु पाक्छ ।’ १५ बिघा खेतको उब्जनीले परिवारलाई खान नपुग्ने भएपछि उनीहरूले अरूको ५ बिघा जमिनमा बटैया गर्दै आएका छन् । जगमोहनका एक छोराले हेल्थ असिस्टेन्ट (एचए) पढेका छन् ।

अर्का छोराले गाउँमै किराना पसल चलाउँछन् । जोगीराम वर्षमा एक पटक परिवारका सदस्यका लागि लत्ताकपडा खरिद गर्छन् । ‘झन्डै १ लाख २० हजार रुपैयाँ त खर्च लाग्छ,’ उनले भने, ‘यत्रो खर्च जुटाउनै धौ–धौ छ ।’ यसबाहेक गन्जी, कट्टुजस्ता कपडा वर्षमा २र३ पटक खरिद गर्नुपर्ने उनले बताए । घरमूली अर्थात् ९७ वर्षीया आमा वैदियाको गत वर्ष निधन भएपछि संयुक्त परिवारलाई जोगीरामले सम्हालेका छन् ।

‘ठूलाले भनेको सानाले मान्ने र सानालाई माया गर्ने यस परिवारका राम्रा कुरा हुन्,’ जोगीरामकी जेठी भाउजु दर्जीनियाले भनिन् । ‘दाजुले जे भन्नुहुन्छ, हाम्रो परिवारमा त्यही चल्छ,’ भाइ जगमोहनले भने, ‘तर, सानो परिवारमा जस्तो ठूलो परिवारमा सम्पत्ति जोड्न, केटाकेटीलाई राम्रो शिक्षादीक्षा दिन सहज हुँदो रहेनछ ।’

सरसफाइ र स्वास्थ्यप्रति निकै सजग यस परिवारले प्राथमिक उपचारका लागि चाहिने सामान्य औषधिमूलो घरमा संग्रह गरेर राखेको छ । यस परिवारबाट ११ जना बालबालिका र किशोरकिशोरी स्कुलरकलेज जान्छन् । उनीहरूले १ कक्षादेखि डिग्रीसम्म अध्ययन गरिरहेका छन् । ठूलो र संयुक्त परिवार अचेल कमै भेटिन्छन् ।

समयअनुसार समाज परिवर्तन हुँदै गएको छ । तर, यहाँको यो परिवार जिल्लाकै नमुना भएको स्थानीय बताउँछन् । ‘जिल्लामै यति ठूलो अर्को परिवार मैले देखेको छैन,’ बारबर्दिया ४ का फूलपाति चौधरीले भने, ‘हाम्रा लागि यो त एउटा स्कुलजस्तो हो, जसबाट धेरै कुरा सिक्न सक्छौं ।’