Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

 दशैंमा हराउँन थाल्यो पिङ र चंगाको रौनक

NIC Bank, Long AD

October 17, 2018

काठमाडौं । दशैं भन्नासाथ दिमागका आइहाल्ने मनोरञ्जनको साधन हो, पिङ । केटाकेटी त यसमा रमाउने भइहाले, बुढापाकाहरु पनि ‘दशैंमा एकचोटि धर्ती छोड्नुपर्छ’ भन्दै पिङको खोजी गर्छन् ।

तर, पछिल्ला वर्षहरुमा पिङ बिस्तारै लोप हुँदै जान थालेको छ । पहिले–पहिले एउटै गाउँमा थुप्रै पिङ हालिन्थे तर, आजकल पिङ भेट्टाउनै मुस्किल भइसक्यो । सामाजिक सञ्जालमा मच्चिन अभ्यस्त शहरका युवाहरु पनि पिङमा मच्चिन खासै रहर गर्दैनन् ।

नेपाली बृहत् शब्दकोशमा, ‘रुखको हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनको टुप्पामा बाँधिएको गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन’ भनेर पिङलाई परिभाषित गरिएको छ ।

संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार व्याप्त बुझाईबाहेक वैज्ञानिक दृष्टिकोणबाट पनि पिङको महत्व ठूलो छ ।

‘गाउँघरमा खेतीपातीमा खटिएका मानिसले दशैंलाई सुस्ताउने र रमाइलो गर्ने मौकाका रुपमा लिन्छन्,’ उनले भने, ‘बर्खामा हिलो खेलेको खुट्टा, कुटो, कोदालो गरेर थाकेको शरीर, दशैंमा टन्न खाएर पिङमा मच्चिँदा नसा तन्किन्छन्, स्वस्थ्य भइन्छ ।’

पिङसँग स्वास्थ्यका कुरा जोड्दा मान्छेले वेवास्ता गर्ने भएकाले ‘दशैंमा धर्ती छोड्नैपर्छ एकपटक’ भन्ने प्रचलित तर्क बनेको उनको भनाइ छ ।

घटस्थापना आएसँगै टोलछिमेका युवाहरु भेला भएर पिङ हाल्ने सल्लाह गर्छन् । कतै सालका लिङ्गा ल्याएर त कतै बाँसका खाँबा ल्याएर पिङ थाप्ने चलन छ ।

जंगल नजिक भएका बस्तीमा सालका ४ वटा लाछ्रा (कलिलो साल) ल्याइन्छ । तर, पछिल्लो समय सामुदायिक वन समूह र वन कार्यालयले कडाइ गर्न थालेपछि साल काट्न पार्इंदैन । त्यसैले पनि गाउँघरतिरै बाँस किनेर वा बाँस भएकासँग मागेर पिङको चार वटा लिङ्गाको जोहो हुने गरेको छ ।

तर, परम्परागत रुपमा बाबियो घाँसबाट लठारो बाट्ने सीप नयाँ पुस्तामा हस्तान्तरण हुन सकिरहेको छैन । बाबियोसमेत गाउँघरमा पाइन छाडेको कारण पनि पिङ बनाउन सकस भएको छ । लिङ्गो बनाउने, गाड्ने, खरालो हाल्ने र पिङ बाट्ने काम झण्झटिलो हुँदा आजकल प्लास्टिकको डोरी पनि बाँध्ने गरिन्छ ।

लोप हुँदै गएको पिङको संरक्षणमा कतै–कतै युवाहरुले समूह बनाएर सक्रियता देखाएका पनि छन् । तर, त्यो न्युन छ ।

अर्कोतर्फ रोजगारीका लागि युवाहरु विदेशिने गरेका कारण गाउँघर नै शुन्य हुने गरेको छ । भएका केही पनि पढाइ र रोजगारका लागि शहरी क्षेत्रमा बस्ने र दशैंको मुखमा मात्र गाउँ जाने भएकाले पिङ बनाउने क्रम घटेको बताउँछन् गुरुङ ।

मनोरञ्जनका बैकल्पिक साधनहरुको विकास हुनु र पिङ हाल्ने काम झण्झटिलो भएकाले अहिलेका युवा पुस्ताले रुचि देखाउन छाडेको उनको बुझाई छ ।

केही वर्ष अघिसम्म पनि रातभर जाग्राम बसेर गीत गाउँदै पिङ खेल्ने गरेको बुढापाकाहरु सम्झन्छन् । ‘सररर.. चचहुई…’ भन्दै पिङमा मच्चिन बालबालिकादेखि युवायुवती तथा बुढापाकाहरु पनि पछि पर्दैनथे । तर, आजकाल यस्तो दृष्य कमै देखिन्छ ।

केटाकेटीले रहर गरे आँगनैमा खाँबा गाडेर वा पालीमा डोरी बाँधेर पिङ हाल्ने गरेका छन् अभिभावकले । त्यस्तै पिङ मात्रै होइन विस्तारै समाजिक सन्जालमा भुल्ने प्रवृत्तिले
चंगा उठाउँने, साथीभाइ र परिवारसँग गर्ने रमाइलोमा पनि कमी आउन थालेको छ ।